१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ४ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ४ आइतबार १९:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बालाजुमा बजार अनुगमन :  श्रेष्ठ राइस एन्ड चिउरा मिलका दुई सय बोरा चामल बिक्रीमा रोक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ४ आइतबार १९:५८:oo

काठमाडौं महानगरपालिकाले गोंगबु चोकनजिकै मिल सञ्चालन गर्ने श्रेष्ठ राइस एन्ड चिउरा मिलमा भएको दुई सय बोरा चामल बिक्रीमा रोक लगाएको छ । श्रेष्ठ राइस एन्ड चिउरा गोंगबु प्रिन्ट गरिएका ३० केजी तौलमा भरिएका चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको, खरिद–बिक्री बिल नभएको र मिलको परिचय पाटी नराखिएकोले बिक्रीमा रोक लगाइएको हो । 

मिलमा सञ्चालक थिएनन् । उनका छोरा राजेन्द्र महर्जनले नुवाकोटबाट धान ल्याउने र मिलमा कुट्दै बेच्ने गरेको बताए । उसो भए दुई सय बोरा पनि माग भएरै कुटाएको हो त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘धान लिएर आउने र कुटाएर बिक्रीमा लाने पनि धेरै हुन्छन् । उनीहरूले कुटाएको पैसा दिने हो ।’ उनको कुरा सकिन नपाउँदै अनुगमन टोलीका सदस्यले सोधे, ‘अरूले ल्याएको धान, उसैको चामल अनि श्रेष्ठ राइस एन्ड चिउरा लेखेको बोराचाहिँ किन नि ?’ यो प्रश्नको जवाफमा उनी अक्मकाए ।

यो समस्या श्रेष्ठ राइस मिलको मात्र होइन । यस क्षेत्रमा सञ्चालन हुने मिलको साझा समस्या भएको अनुगमनका क्रममा देखियो । बालाजु चोककै छेउमा रहेको ढकाल आलु तथा सब्जी भण्डारका सञ्चालक पण्डितप्रसाद ढकालले ११० रुपैयाँमा प्रतिकेजी प्याज बेचिरहेका थिए । प्याज किन महँगाे नि ? अनुगमन टोलीका प्रतिनिधिले प्रश्न गर्दा सञ्चालकले उत्तर दिए– मैले नै सय रुपैयाँ प्रतिकिलोमा किनेर ल्याएको हुँ । यति भन्दै उनले गोकर्णेश्वर नगरपालिका– ५ जोरपाटीमा रहेको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारले २० बोरा प्याजको बिल देखाए । ११ सय किलो प्याजको प्रतिकिलो सय रुपैयाँका दरले एक लाख १० हजार रुपैयाँ बिलमा उल्लेख थियो । अनुगमन टोलीले नन्देश्वरी भण्डारका सञ्चालकलाई पनि विभागमा बोलाएको छ । 

आइतबारको अनुगमनका क्रममा गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको ठूलो प्लाष्टिकको थैलीमा राखिएका करिब २५ प्याकेट पानीपुरी र हरिशरण ढकालले स्कुटरमा राखेर बेच्दै हिँडेका १५ प्याकेट खुला चाउमिन बरामद गरेर नष्ट गरिएको छ ।  यसैगरी सानो भऱ्याङमा सञ्चालित माँ भवानी ट्रेडर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्यसूची नराखेको, खरिद–बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएकोले आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।