मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३ शनिबार १६:१५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ : प्रधानन्यायाधीश जबरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३ शनिबार १६:१५:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधान सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ भएको बताएका छन् । संविधान दिवसमा भिडियोमार्फत सन्देश दिँदै उनले यस्तो धारणा राखेका हुन् । 

‘नेपालको संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय व्यवस्था र सामाजिक–सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ पनि हो,’ जबराले सन्देशमा भनेका छन् ।

संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, अद्यावधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रतालगायतका लोकतान्त्रिक मूल्यमान्यतालाई आधारभूत संरचनाका रूपमा स्थापित गरेको उनले बताए । 

भिडियो सन्देशमा उनले भनेका छन्, ‘संविधानलाई राज्य सञ्चालनको कानुनी दस्ताबेज मात्र नभएर जनताको जीवनपद्धतिको रूपमा लिनुपर्ने मान्यताको विकास भएको छ ।’ उनले राज्यका सबै निकायले आ–आफ्नो स्थानबाट संविधान कार्यान्वयनका लागि योगदान गर्नुपर्ने धारणा राखेका छन् । 

संविधानसभाबाट संविधान निर्माण हुने प्रक्रियासम्म ल्याउन र संविधान निर्माणमा भूमिका निर्वाह गर्ने सबैलाई उनले स्मरण गर्दै सबैले संविधानलाई बलियो बनाउन प्रण गर्नुपर्ने बताए । न्यायपालिकासमेत आफ्नो स्थानबाट यसमा क्रियाशील रहेको उनको भनाइ छ । 

न्यायपालिका सुधारका लागि पहल भएका छन्

जबराले न्यायपालिकाको सुधारको विषयमा चासो तथा सरोकार राख्नेको समसामयिक सुझाबहरूलाई ग्रहण गर्दै सम्बोधन गर्न उपयुक्त पहलकदमी लिएको सन्देशमार्फत स्पष्ट पारेका छन् । उनले भरोसायोग्य न्यायप्रणालीको स्थापनाका लागि प्रतिबद्ध भएको बताएका छन् । 

‘नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना गर्ने र संविधानको कार्यान्वयनमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन् । 

कोरोनाका कारण राज्यका अन्य निकायझैँ न्यायपालिकाले समेत कठिनाइको सामना गरिरहेको भन्दै यस विषम परिस्थितिमा समेत नयाँ आशा, नयाँ क्षितिज र अवसरको खोजी गर्नुपर्ने उनको भनाइ छ ।

‘राज्यको सबै निकायहरूको यसतर्फको क्रियाशीलता, आपसी विश्वास, समन्वय र सहकार्यबाट नै आमनागरिकमा विश्वास र भरोसा जागृत हुन सक्दछ,’ सन्देशमा भनिएको छ, ‘आजको विशेष दिनले सबैमा त्यस किसिमको ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ संविधान दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’