
धातुको सिक्कालाई बहुमूल्य धातु भन्दै डेढ लाख ठगी गर्ने दुईजनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिका घर भएका ३६ वर्षीय विजय लामा र स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका घर भएका २८ वर्षीय उत्तम थापालाई पक्राउ गरेको हो ।
उनीहरूले मर्स्याङ्दी गाउँपालिका– १ की ५६ वर्षीया विष्णुमाया गुरुङसँग बहुमूल्य धातु हो भनी सिक्का देखाई विभिन्न प्रलोभनमा पारी डेढ लाख लिएका थिए । पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
उक्त सिक्का बहुमूल्य वस्तु भएकाले आफैँले दुई लाखमा बिक्री गरिदिन्छौँ भनी आफूलाई विभिन्न किसिमका प्रलोभन देखाएर डेढ लाख लिएको पीडित विष्णुमाया गुरुङले बताइन् ।
उक्त वस्तु बहुमूल्य नभई सामान्य वस्तु भएकाले प्रहरी कार्यालयमा निजहरूविरुद्धमा उजुरी दिएको पीडित गुरुङले बताइन् ।
सोही उजुरीका आधारमा लामा र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । उनीहरूलाई लमजुङ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरी १५ दिनको म्याद थप गरिएको डिएसपी थापाले बताए ।