१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २ शुक्रबार ११:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गौतमको मनोनयन विकृत लोकतन्त्रको घातक विडम्बना : साझा पार्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २ शुक्रबार ११:४५:००

प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरिएकोप्रति साझा पार्टीले आपत्ति जनाएको छ । 

राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयनका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिस्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको भन्दै आपत्ति जनाएको हो । 

साझा पार्टीले यो मनोनयनलाई आमनागरिकको अपेक्षामाथिको ठाडो उपहास र लोकतन्त्रको मूल्यमान्यता तथा संविधानको भावनामाथिको निर्मम प्रहार भएको बताएको छ । साझा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाहीउन्मुख सरकारले जनतालाई पुनः एकपटक तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन भन्ने हठी सन्देश दिएको छ।’ 

विज्ञप्तिमा संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्बनापूर्ण विषय भएको जनाइएको छ । 

संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रिमण्डलमा नलैजान साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । 

‘नागरिकप्रतिको चरम बेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याइए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ  हामी सरकारलाई समयमै सचेत गराउछौँ,’ विज्ञप्तिमा मा भनिएको छ ।