Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ३० मंगलबार १६:५४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ललितपुर महानगरका फुटपाथमा 'वर्कसप' चलाए कारबाही हुने

Read Time : > 1 मिनेट
२०७७ भदौ ३० मंगलबार १६:५४:००

ललितपुर महानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने भएको छ । सहरी सौन्दर्यता जोगाउन र फुटपाथमा हिँड्ने पैदलयात्रुलाई सहज होस् भन्ने ध्येयले महानगरले फुटपाथ अतिक्रमण हटाउने अभियान थालेको हो । 

मेयर चिरिबाबु महर्जनले फुटपाथमा मोटरसाइकल मर्मतको काम र निर्माण सामग्री थुपारेर फुटपाथ अतिक्रमण भएको र त्यसलाई हटाएर सहरी सौन्दर्यता कायम राख्नुपर्ने आवश्यकता रहेको बताए । फुटपाथ अतिक्रमण हुन नदिन योजनाबद्ध र चरणबद्ध रूपमा अघि बढ्ने उनको भनाइ छ ।

महानगरपालिकाले नगर प्रहरीको सक्रियतामा सार्वजनिक स्थान, सडक र फुटपाथमा पैदययात्रीलाई असहज हुने गरी अतिक्रमण गरी सञ्चालित व्यवसाय हटाउन पहल थालेको हो । ‘सार्वजनिक स्थल मिचेर व्यवसाय गर्नु गैरकानुनी हो, त्यसरी सडकछेउमा सञ्चालित व्यवसायलाई हटाएर सडक र सहरको सौन्दर्य बढाउन सबैलाई सहयोग गर्न पनि आग्रह गरेको छु,’ मेयर महर्जनले भने । 

महानगरले सडकमा फुटपाथ मिचेर सञ्चालित अटो मोबाइल र वर्कसपहरू हटाउन नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई पत्राचार गरेको छ । ‘सडकछेउमा सञ्चालित अटो वर्कसपले सडकमै निस्केर काम गर्ने गरेका छन्, फुटपाथमा पार्किङ नै गरिएको पनि भेटिन्छ, त्यस्तो नगर्न आग्रह गर्दै पत्राचार गरेका छौँ,’ नगर प्रमुख प्रहरी सीताराम हाछेथुले भने । 

१ असोजबाट सर्वसाधारणलाई बाधा पुग्ने गरी त्यसरी काम गरिएको पाइएमा नगर प्रहरीले कारबाही गर्नेसमेत उनले बताए । सानो सटर भाडामा लिने र सडकको फुटपाथमा सामग्री राखेर व्यवसाय गर्नेहरूलाई कारबाही गरिने उनले बताए । 

हाछेथुले पहिलो चरणमा फुटपाथमा त्यसरी वर्कसपको काम नगर्न अटोमेकानिक्स संघको ध्यानाकर्षण गराएको बताए । हाछेथुका अनुसार संघका अध्यक्षलाई नै बोलाएर यस विषयमा आफ्ना सदस्य वर्कसपहरूलाई सजग गराउन भनिएको छ । ललितपुरमा करिब तीन सयवटा वर्कसप सञ्चालनमा छन् ।

धेरैजसो वर्कसपले सानो सटर लिएर वर्कसप सञ्चान गरेका छन् । धरैजसो वर्कसपले सानो सटर लिएर वर्कसप चलाउने र बाइकहरू फुटपाथमा यत्रतत्र पार्किड गराउने गरिएको पाएको हाछेथुले बताए । ‘फुटपाथमै मोटरसाइकल मर्मत गर्दा नगरको सौन्दर्य बिग्रिएको छ, फुटपाथमा हिँड्नेलाई पनि समस्या भएको छ,’ उनले भने । 

हाछेथुका अनुसार दोस्रो चरणमा फुटपाथबाट निर्माण सामग्री हटाउने अभियान सुरु गरिनेछ । फुटपाथमा निर्माण सामग्री थुपारेर घर वा अन्य भवन निर्माण गर्दा हुँदा फुटपाथमा हिँड्नेहरू अप्ठ्यारोमा परेका छन् । नगरभित्रका समस्या समाधान गर्न नगर प्रहरी आफैँ खटिने हाछेथुले बताए । 

परिस्थिति सहज बन्दै गएपछि फुटपाथमा बसेर व्यापार गर्नेलाई पनि हटाउने सन्दर्भ छलफल भइरहेको उनले स्पष्ट पारे । उनले भने, ‘यो महामारीमा कसैलाई अप्ठ्यारो नपारौँ भन्ने हो, कोरोना नियन्त्रण भएपछि यो काम थाल्छौँ ।’ हाछेथुले स्थानीय समुदायलाई साथमा लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

विगतका गतिविधिले नगर प्रहरीप्रति जनताको नकारात्मक धारणा विकास भएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुखकाे रहेको भन्दै हाछेथुले नगर प्रहरीको छवि सुधार्ने गरी काम गर्ने दृढता व्यक्त गरे । सहरमा सुव्यवस्था कायम गराउन महानगरपालिकाले बनाएको नीति तथा कार्यक्रमअनुसार दिइएको जिम्मेवारी पूरा गर्ने बताए ।