१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ भदौ २९ सोमबार १९:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

‘कोरोना महामारीमा हृदयाघातका घटना दोब्बर’

Read Time : > 1 मिनेट
२०७७ भदौ २९ सोमबार १९:३८:००

कोरोना भाइरस संक्रमणको डरले अधिकांश व्यक्ति अस्पताल जान डराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिन थालेपछि अस्पतालहरूले अत्यावश्यकबाहेकका सेवा बन्द गरिरहेका छन् । संक्रमण नियन्त्रणका लागि भन्दै अस्पतालहरू बन्द हुन थालेपछि ननकोभिड बिरामीले भने समस्या भोगिरहेका छन् । दीर्घरोगी र लामो समयदेखि औषधि सेवन गरिरहेका बिरामीहरू नियमित चेकजाँचबाट वञ्चित छन् । अधिकांशले स्वास्थ्य जटिलता वा लक्षणहरूलाई बेवास्ता गरिरहेका छन् । 

अमेरिकन मेडिकल एसाेसिएसनद्वारा प्रकाशित जामा कार्डियोलोजी नामक जर्नलले महामारीमा भइरहेको हृदयाघातलाई आधारमा मानेर अध्ययन रिपाेर्ट प्रकाशन गरेको छ । उक्त अध्ययनअनुसार अघिल्लो वर्षको तुलनामा महामारीमा हृदयाघातका कारण मृत्यु हुनेको संख्या दोब्बर रहेको छ । खासगरी महामारीबाट अतिप्रभावित क्षेत्रमा अस्पताल जाँदा संक्रमण सर्ने डरले लक्षणलाई बेवास्ता गरेका कारण हृदयाघातको जोखिम बढेको अनुसन्धानकर्ताले बताएका छन् । 

हृदयाघात मात्रै नभई उपचारको अभावमा स्ट्रोक, पक्षघात, मिर्गौला फेल, मधुमेह, उच्च रक्तचापजस्ता विभिन्न स्वास्थ्य समस्याले जटिल रूप लिन सक्ने चिकित्सक बताउँछन् । महामारीपछि कोभिड संक्रमणमा मात्रै ध्यान दिँदा अन्य रोगले चुनौती थपिरहेका छन् । 

कसरी बच्ने ?
विश्वभरि नै कोभिड संक्रमण फैलिइएसँगै अन्य रोगको जोखिम पनि बढ्न थालेको छ । जसमध्ये ननकोभिड भाइरल संक्रमण, हृदयाघात र स्ट्रोक अगाडि देखिन्छन् । तसर्थ अन्य रोगका लक्षणहरूलाई समेत बेवास्ता गर्नुहुँदैन । 

हृदयाघातका सुरुवातीका लक्षणहरू जस्तै, शरीरको माथिल्लो भाग र छाती एक्कासि दुखेमा, चिटचिट पसिना आएमा, मांसपेसी दुखेमा, थकान महसुस भएमा, एक्कासि श्वास फेर्न गाह्रो भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । महामारीको समयमा कोभिडसँगै अन्य जटिलता आउन सक्ने भएकाले आफूनजिकको चिकित्सकसँग नियमित सम्पर्कमा रहनुपर्छ । 

दीर्घरोगको औषधि सेवन गरिरहेका र पहिले हृदयाघातजस्ता समस्या देखिएका व्यक्तिले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । हृदयाघातको मुख्य कारण खराब जीवनशैली र तनाव हो । महामारीले निम्त्याएको असामान्य अवस्थाका कारण तनाव बढिरहेको छ । हृदयाघातको जोखिमबाट बच्नका लागि तनाव व्यवस्थापन गर्न जरुरी हुन्छ । 

गाउँस्तरमा संक्रमण फैलिइसकेकोले अधिकांश समय अप्रिय समाचार सुन्नुपर्ने हुन सक्छ । साथै आफू र परिवारमा पनि संक्रमण फैलिने त्रासले तनाव बढाइदिएको छ । यस्तो अवस्थामा आफू र परिवारको शारीरिक, मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ ।