१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ भदौ २९ सोमबार १३:५०:००
Read Time : > 3 मिनेट
खेलकुद

आइपिएलमा छिटो शतक बनाउने यी हुन् ६ खेलाडी

Read Time : > 3 मिनेट
२०७७ भदौ २९ सोमबार १३:५०:००

टी–२० फर्म्याटमा शतकीय इनिङ्स खेल्नु त्यति सहज छैन । आधुनिक क्रिकेटकै रोमाञ्चक प्रतिस्पर्धा भनिने टी–२० मा शतक प्रहार गर्दा एक ब्याट्सम्यानले उत्कृष्ट स्ट्रोक लगाउनुपर्छ । सो ब्याट्सम्यान क्रिजमा अन्तिमसम्म उभिएर कम्तीमा पनि २५० भन्दा माथिको स्ट्राइकमा ब्याटिङ गरेपछि मात्र सम्भव हुन्छ । टी–२० क्रिकेटमा हरेकपटक यो सम्भावना छैन । 
यहाँ टी–२० क्रिकेटमा यसकारण शतकीय इनिङ्सको चर्चा गरिँदै छ कि केही दिनपछि दुबईमा १३औंँइन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुँदै छ । आइपिएलको १२औँ संस्करणमा धेरै ब्याट्सम्यानले शतकीय इनिङ्स खेलेका छन् । आइपिएलको शीर्ष १० छिटो शतकमा वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको नाममा तीनवटा शतक छ । उनले ३० बल र दुईपटक ४६ बलमा शतकीय इनिङ्स खेलेका छन् । यी ब्याट्सम्यानका अर्को लक्ष्य भनेको पुरानो रेकर्ड तोड्ने पनि हो । आइपिएलमा बनेका शतक यस्ता छन् ।

क्रिस गेल (बेंग्लोर) ३० बलमा
१३ अप्रिल ०१३ मा बेंग्लोरको चिन्नस्वामी रंगशालामा वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलले विस्फोटक इनिङ्स खेले । गेलको यो रेकर्ड अहिलेसम्म टी–२० फर्म्याटमा यथावत् छ । रोयल च्यालेन्जर्स बैंग्लोरका यी ब्याट्सम्यानले पुणे वारियर्सविरुद्ध आइपिएल इतिहासकै छिटो शतकीय इनिङ्स खेल्न सफल भए । यस खेलमा गेलले केवल लामो स्ट्रोक मात्र लगाएका थिए । पुणेका बलर उनका सामु टिक्नै सकेनन् । लगभग सबैजसो बलरका बल गेलले मैदानबाहिर पुऱ्याएका थिए । 

सम्भवतः टी–२० करिअरकै उत्कृष्ट ब्याटिङमा गेलले केवल ३० बलमै सय रन पूरा गरेका थिए । त्यसपछि उनले ६६ बलमा एक सय ७५ रनको इनिङ्स खेले । आइपिएल र टी–२० इतिहासमा एक ब्याट्सम्यानले जोडेको व्यक्तिगत रन नै यो ठूलो हो । गेलले यसक्रममा १३ चौका तथा १७ छक्का प्रहार गरे । केवल एक सय दुई मिनेट क्रिजमा बिताएका गेलले दुई सय ६६ स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । यस खेलमा बेंग्लोरले २६३–५ को योगफल खडा गरेको थियो । खेल बेंग्लोरले एक सय ३० रनले जित्यो । 

युसुफ पठान (राजस्थान) ३७ बल

मध्यक्रममा ब्याटिङ गर्दै ब्याट्सम्यानले टी–२० मा शतक लगाउनु चानचुने कुरा होइन । मध्यक्रममा पालो आउने ब्याट्सम्यानसमक्ष धेरै बल बाँकी रहँदैन । तर, सन् २०१० मा मध्यक्रमका एक ब्याट्सम्यानले आइपिएलमा शतकीय इनिङ्स खेले । राजस्थान रोयल्सका हिटर युसुफ पठानले केवल ३७ बलमै शतकीय इनिङ्स खेलेका थिए ।

मुम्बई इन्डियन्सविरुद्धको प्रतिस्पर्धामा राजस्थान झिनो चार रनले पराजित भए पनि पठानको ब्याटिङ नै मुख्य आकर्षक रहेको थियो । मुम्बईले दुई सय ३१ रनको लक्ष्य दिएको थियो । युसुफले अन्तिम ओभरसम्म ब्याटिङ गर्दा राजस्थानले खेल जित्ने थियो, तर एउटा खराब ‘कल’मा उनी रनआउट भए । मुम्बईविरुद्धको खेलमा पठानले नौ छक्का र आठ चौका प्रहार गरे । उनको स्ट्राइक रेट दुई सय ७० थियो । आइपिएलको इतिहासमा मुम्बई र राजस्थानबीचको प्रतिस्पर्धालाई अहिलेसम्मकै नाटकीय खेलको रूपमा लिने गरिन्छ । 

डेभिड मिलर (किंग्स ११ पन्जाब) ३८ बल

सन् ०१३ को आइपिएल सिजन धेरै अर्थमा रोमाञ्चक र स्मरणीय रूपमा सम्पन्न भयो । यसै संस्करणमा गेलले कीर्तिमानी रूपमा शतकीय इनिङ्स खेले । विशेषतः ओपनर ब्याट्सम्यानले दबदबा बनाएको आइपिएलमा दक्षिण अफ्रिकाका डेभिड मिलरले इतिहासकै तेस्रो छिटो शतक लगाए । आइपिएलको छैटाैँ संस्करणमा किग्स ११ पन्जाबका मिलरले रोयल च्यालेन्ज बेंग्लोरविरुद्ध ३८ बलमै शतक पूरा गरे । बेंग्लोरले एक सय ९१ रनको लक्ष्य दिएको थियो । मिलर पाँचौँ नम्बरका ब्याट्सम्यान थिए । उनी क्रिजमा आउँदा किंग्स ११ पन्जाबले १४ ओभरमा ९४.४ को प्रदर्शन गरेको थियो । मिलर क्रिजमा आएको ५४ मिनेटभित्र खेलको नक्सा नै बदलियो । उनले सात छक्का र आठ चौकाको मद्दतमा शतकीय इनिङ्स मात्र खेलेनन्, पन्जाबलाई जित पनि दिलाए । मिलर तीन सय ६५ स्ट्राइक रेटमा ब्याटिङ गर्दा पन्जाबले खेल १२ बलअघि नै ६ विकेटले हात पाऱ्याे । मिलर व्यक्तिगत ९५ रनमा खेलिरहँदा पन्जाबलाई जितका लागि तीन रन चाहिएको थियो । मिलरले छक्का प्रहार गरी विजयी रन बटुले । 

एडम गिलक्रिस्ट (डेकन चाजर्स) ४२ बल

अस्ट्रेलियन क्रिकेट इतिहासमा एडम गिलक्रिस्ट विस्फोटक ब्याट्सम्यानका रूपमा परिचित छन् । शीर्ष स्थानमा ब्याटिङ गरी विपक्षी बलरमाथि हावी हुने गिलक्रिस्टको खुवी नै थियो । आक्रामक रूपमा खेल्न रुचाउने गिलक्रिस्टले आइपिएलको इतिहासमा शतकीय इनिङ्स खेलेका छन् ।

आइपिएलमा उनले ४२ बलमा शतक बनाएका थिए । डेकन चार्जसबाट प्रतिस्पर्धा गरेका गिलक्रिस्टले यो सफलता मुम्बई इन्डियन्सविरुद्ध हात पारेका थिए । मुम्बईले दिएको एक सय ५५ रनको लक्ष्य डेकनले सहज पछ्याएका थिए । गिलक्रिस्टमयी खेलमा डेकनले दश विकेटले जित निकाल्यो । उनलाई साथ दिएका भिभिएस लक्ष्मण ३७ रनमा नटआउट रहे । गिलक्रिस्टले आफ्नो इनिङ्समा १० छक्का र नौ चौका प्रहार गरी ४७ बलमा एक सय नौ रन जोडे । यो खेलमा उनको स्ट्राइक रेट दुई ३१ थियो । 

एबिडी भिलियर्स (बेंग्लोर) ४३ बल

आधुनिक क्रिकेट इतिहासमा दक्षिण अफ्रिकाका एबिडी भिलियर्सको ब्याटिङशैली निकै आकर्षक मानिन्छ । तीनवटै फर्म्याटमा भिलियर्सले आफ्नाे ब्याटिङ जादु देखाएका छन् । मध्यक्रमका ब्याटिङ गर्दा पनि उनको स्ट्राइक रेट माथि रहने गर्छ । आइपिएलको ०१६ सिजनमा बेंग्लोरबाट खेलेका भिलियर्सले गुजरातविरुद्ध ४३ बलमै शतकीय इनिङ्स खेले । यसक्रममा उनले १० छक्का र १२ चौका प्रहार गरी एक सय २९ रन जोडेका थिए । चिन्नस्वामी रंगशालामा उनको ब्याटिङ चल्दा गुजराती बलरको केही चलेन । 

डेभिड वार्नर (हैदराबाद), ४३ बल

अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर आक्रामक रूपमा ब्याटिङ गर्न रुचाउँछन् । विशेषतः छोटो फर्म्याटमा ओपनिङ गर्दै विपक्षी बलरविरुद्ध स्ट्रोक लगाउँदा उनी रोमाञ्चित हुन्छन् । आइपिएलको इतिहासमा वार्नरले पनि छिटो शतक इनिङ्स खेलेका छन् । सन् ०१७ को सिजनमा उनले हैदराबादबाट खेल्दै कोलकोता नाइट राइडर्सविरुद्ध ४३ बलमै शतक लगाए । उनले ५९ बलमा एक सय २६ रन जोडे । जसमा १० चौका र आठ छक्का समावेश थियो । –एजेन्सीको सहयोगमा