१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ भदौ २५ बिहीबार १०:१९:००
Read Time : > 5 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कंगना रनौत र महाराष्ट्र सरकारबीच टकराव

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ भदौ २५ बिहीबार १०:१९:००

बलिउडका अधिकांश कलाकारसँग सम्बन्ध बिगारेकी कंगना राजनीतिक अवसरका लागि शिवसेना र महाराष्ट्र सरकारविरुद्ध आक्रामक भएर लागेको अनुमान 

बलिउड अभिनेत्री कंगना रनौत र महाराष्ट्र सरकारबीच टकरावको स्थिति देखिएको छ । बुधबार ब्रिहनमुम्बई नगर निगम (बिएमसी)ले मुम्बईको बान्द्रास्थित कंगनाको घर तथा फिल्मी कार्यालय कानुनविपरीत निर्माण भएको भनी डोजर लगाएर भत्कायो । कंगनाले नक्सा पास गरेअनुसार घरको निर्माण नगरेको आरोपमा बिएमसीले यस्तो एक्सन लिएको हो । आफ्नो कार्यालय तोडफोड भएपछि कंगनाले ट्विट गर्दै महाराष्ट्र सरकारलाई बाबर सेनाको आरोप लगाएकी छन् । आफ्नो घर भत्काइरहेको तस्बिर पोस्ट गर्दै उनले महाराष्ट्र सरकारको लगातार आलोचना गरेकी छिन् । उनले मुम्बई अब पिओके (पाकिस्तान अतिक्रमित कास्मीर) भएको गम्भीर आरोप पनि लगाइन् । आफ्नो कार्यालय भत्काइएपछि कंगनाले ‘आज आफ्नो घर भत्किएको, तर भोलि उद्धव ठाकरेको घमन्ड भत्कने’ प्रतिक्रिया दिइन् । ठाकरे महाराष्ट्रका मुख्यमन्त्री हुन् । 

यसअघि बम्बे हाइकोर्टले ३० सेप्टेम्बरसम्म मुम्बईमा कुनै पनि भौतिक संरचना तोडफोड नगर्न आदेश दिएको थियो । तर, आफ्नो कार्यालय भत्किएपछि बुधबार ट्विटमा कंगनाले लेखेकी छिन्, ‘मणिकर्णिका फिल्म्सभन्दा पहिला फिल्म अयोध्याको घोषणा भयो, यो मेरा लागि एक भवन होइन, राम मन्दिर हो । आज त्यहाँ बाबर आएको छ, आज इतिहास फेरि आफैँ दोहोरिएको छ, राम मन्दिर फेरि टुटेको छ, तर याद राख बाबर, यो मन्दिर फेरि बन्नेछ, जय श्री राम ।’ 

                                                                             .......

कंगनाले सुशान्तसिंह राजपुतको मृत्युमाथि बहस चलिरहँदा मुम्बई आफूलाई पाकिस्तान अतिक्रमित कास्मीर लागेको बताएपछि महाराष्ट्र सरकार र कंगनाबीचको विवाद उत्कर्षमा पुगेको हो । उनको अभिव्यक्तिले महाराष्ट्रको पहिचानमाथि प्रश्न खडा भएको शिवसेनाको ठहर छ । यसअघि कंगना र शिवसेनाका सांसद सञ्जय राउतबीच आरोप प्रत्यारोप चलेको थियो । कंगनाले भनेकी थिइन्, ‘शिवसेनाका नेता सञ्जय राउतले मलाई खुला धम्की दिएका छन् र भनेका छन् कि म मुम्बई नआउँ । पहिले मुम्बईका सडकहरूमा स्वतन्त्रताको नारा लाग्यो र अहिले खुला धम्की आइरहेको छ । यो मुम्बई पाकिस्तान अतिक्रमित कास्मीरजस्तो किन लागिरहेको छ ?’ 

                                                                             .......

महाराष्ट्रमा कांग्रेस, एमसिपी र शिवसेनाको गठबन्धन सरकार बनेपछि बिजेपी र शिवसेनाबीच शीतयुद्ध सुरु भएको हो । वरिष्ठ पत्रकार सुजाता आनन्दन कंगनाले महाराष्ट्र सरकारविरुद्ध आफ्नो बयानमा नरमपन देखाइनन् भने यो लफडा जारी रहने बताउँछिन् । उनी भन्छिन्, ‘यो कुरामा दुईमत छैन कि यो लफडा जारी रहनेछ । बिजेपीले अर्को पाँच वर्षसम्म ठाकरे परिवारलाई आफ्नो निशानामा राखिरहनेछ । तर, प्रश्न यो छ कि हाई डेसिबलको आरोप प्रत्यारोप कहिलेसम्म जारी हुनेछ ? यसको जवाफ दुई शब्दमा दिन सकिन्छ, आउँदो बिहार चुनाव ।’ कंगना र महाराष्ट्र सरकारबीच तीन महिनादेखि आरोप–प्रत्यारोप चलिरहेको छ । 

  • अभिनेत्री कंगना रनौतको कार्यालयअगाडि बिएमसीको डोजर

बिएमसीमाथि बदलाको भावनाबाट कंगनाको घरमा आक्रमण भएको आरोप लागेको छ । यसअघि साहरुख खानदेखि कपिल शर्माजस्ता सेलेब्रिटीविरुद्ध पनि बिएमसीले यस्तै कारबाही गरेको थियो । भारतीय राजनीतिक विश्लेषक हेमन्त देसाई यसलाई पूर्णरूपमा बदलाको भावनाबाट प्रेरित मान्छन् । उनी भन्छन्, ‘कंगना रनौतविरुद्ध जुन कारबाही भएको छ, यसमा बदलाको भावना देखिन्छ । किनकि मुम्बईमा तमाम यस्ता भवन छन्, जो अवैध तरिकाले निर्माण गरिएका छन् । त्यहाँ यो किसिमको कारबाही हुने गर्दैन ।’ शिवसेनाको राजनीतिलाई नजिकबाट बुझेकी वरिष्ठ पत्रकार सुजाता यसलाई बदलाको कारबाही मान्छिन् । सुजाता भन्छिन्, ‘यो पहिलोपटक भइरहेको छैन । बिएमसीले आफ्नो नराम्रो गर्नेको विरुद्ध यस्तै हतकण्डाको प्रयोग गर्छ ।’

मुम्बईस्थित आफ्नो कार्यालय भत्काइएपछि कंगना रनौतको प्रतिक्रिया- मणिकर्णिका फिल्म्सभन्दा पहिला फिल्म अयोध्याको घोषणा भयो, यो मेरा लागि एक भवन होइन, राम मन्दिर हो । आज त्यहाँ बाबर आएको छ, आज इतिहास फेरि आफैँ दोहोरिएको छ, राम मन्दिर फेरि टुटेको छ, तर याद राख बाबर, यो मन्दिर फेरि बन्नेछ, जय श्री राम । 

महाराष्ट्रको राजनीतिलाई नजिकबाट नियालेका देसाई कंगनाले एक किसिमले शिवसेनालाई रिस उठाउने काम गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘कंगनाले जुन तरिकाबाट बाबर शब्दको प्रयोग गरेकी छिन्, त्यसबाट प्रस्ट भइन्छ कि कंगनाले पनि राजनीतिक भाषाको प्रयोग गरिरहेकी छिन् । अझै शिवसेना कंगनाविरुद्ध आक्रमक कदम उठाउन सक्छ । यो मामला अझै अगाडि जानेछ ।’

                                                   .....

फिल्म समीक्षक तनुल ठाकुर कंगनाले अभिनेत्रीको रूपमा आफ्नो करिअरको महत्व दिन छाडेको बताउँछन् । उनी भन्छन्, ‘म उनलाई ‘क्विन’ र त्योभन्दा पहिलादेखि हेर्दै आइरहेको छु । एक कलाकारको रूपमा समय सँगसँगै राम्रो हुँदै गइन् । मलाई यो भन्न अप्ठ्यारो लाग्दैन कि उनी महान् कलाकार हुन् । तर, जब एउटा व्यक्तिका रूपमा कंगनाको व्यवहारको कुरा आउँदा मलाई दुःख लाग्छ । सायद उनले आफ्नो अभिनयको करिअरलाई महत्व दिन छाडेकी छिन् । र, सायद राजनीतिमा जाने संकेत दिइरहेकी छिन् ।’

हालै एक प्रतिष्ठित फोटोग्राफर पिसी श्रीरामले कंगनासँग काम नगर्ने घोषणा गरे । तनुल यस अवस्थालाई मध्यनजर गर्दै भन्छन्, ‘कुरा यो होइन कि श्रीरामले मन पराउँदैनन् । एक अभिनेत्रीका रूपमा मान्छे उनलाई आज पनि मन पराउँछन् । तर, कंगना जुन तरिकाले कुनै पनि विचारलाई एक हतियारका रूपमा प्रयोग गर्छिन् त्यसले उनको साथ काम गर्नेहरूलाई असहज हुने गर्दछन् । उनी यस्तो स्थिति पैदा गर्छिन् जसमा कंगना स्वयं फिल्म बनाउँछिन् । जब कि उनी कैयौँ राम्रा निर्माता, कलाकार र टेक्निसियनसँग काम गर्न सक्थिन् ।’

तर, राजनीतिक विश्लेषकहरूको धारणा मान्ने हो भने कंगना–शिवसेना विवादपछि एक राजनीतिक ‘अन्डर करेन्ट’ छ । जसका कारण दुवै पक्षबीच आक्रामकता यसरी बढेर गएको हो । राजनीतिक विश्लेषक देसाई अहिलेको अवस्थाले शिवसेना र बिजेपी दुवै पक्षलाई फाइदा भइरहेको बताउँछन् । उनी भन्छन्, ‘एक तरिकाबाट हेर्ने हो भने यो मुद्दाले सरकारलाई फाइदा गरिरहेको छ । किनभने महाराष्ट्रमा पुणे र कोहलपुर, सोहल्पुरजस्ता साना सहरमा कोरोना भाइरस व्यापक रूपमा फैलिरहेको छ । यसका लागि राज्य सरकारलाई दोष दिन सकिन्छ, तर यो सबको कारण सदनमा अर्नब गोस्वामीविरुद्ध विशेषधिकार हनन प्रस्ताव आइरहेको छ । र, कोरोनाबारे कुनै पनि सवाल उठिरहेको छैन ।’ उनी भन्छन्, ‘दोस्रो यो मुद्दा बिजेपीका लागि पनि फाइदमूलक छ । किनभने यसको कारण उत्तर भारतीय राज्यमा राजनीतिक फाइदा हुनेछ । यदि कंगनाको कुरा गर्ने हो भने यस खेलमा उनी एक खेलाडीको भूमिकामा छिन् ।’ राजनीतिक विश्लेषक देसाई कंगनाको फिल्मी करिअर खत्तम भएको र राष्ट्रिय छवि बढिरहेको तर्क गर्छन् । ‘उनी यसको फाइदा अझै उठाइरहेकी छिन् । सायद उनी राष्ट्रपतिको कोटाबाट राज्यसभा जान सक्छिन् । उनको महत्वकांक्षा अझै बढी हुन सक्छ,’ देसाई भन्छन् ।

कंगनाका विवादास्पद अभिव्यक्ति 

- कंगना रनौत सधैँ ट्विटमा देशभक्ति देखाउँछिन् । तर, ट्विटमार्फत उनी बढी नै आक्रमक बोल्ने गर्छिन् । एकपटक उनले अभिनेत्री शबाना आजमीलाई भनेकी थिइन्, ‘शबाना आजमीजस्ता मान्छे सांस्कृतिक आदानप्रदानको कुरा गर्छन् । यी मान्छे ग्याङसँग खडा भएर भारत तिम्रो टुक्रा हुनेछ भन्नेजस्ता छन् । म बुझ्न सकिरहेकी छैन कि उनले कराँचीमा एक इभेन्टको आयोजना किन गरिन्, जब कि उरी हमलापछि पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएको छ । यो उद्योग देशद्रोहीले भरिएको छ र यहाँ मात्र दुस्मनको हौसला बढाइन्छ ।’ कंगनाको यस बयानलाई लिएर खुब विवाद भयो । 

- कंगनाले कैयौँपटक बलिउडका कलाकारलाई प्रहार गरेकी छिन् । कहिलेकाहीँ उनी करण जोहरलाई नातावादको नाममा निशाना बनाउँछिन् त कहिले बलिउडका प्रायः चुपचाप रहने सेलेब्रिटीलाई । उनले तापसी पन्नु र स्वारा भास्करविरुद्ध पनि आफ्नो निसाना साँधिन् । सुशान्तको मृत्युलाई लिएर नातावादको बहस चलिरहेको थियो । उक्त समयमा कंगनाले एक अन्तर्वार्तामा तापसी–स्वारालाई बी ग्रेडको अभिनेत्री भनिन् । उनको उक्त विवादित अभिव्यक्ति भाइरल बन्यो । यसपछि तापसीले कंगनालाई जवाफ दिइन्, ‘लाग्दै छ, फेरि ग्रेड सिस्टम सुरु भएको छ ।

- बलिउडमा ड्रग्स विवाद सुशान्तको मृत्युपछि सुरु भयो । यो विवादमाथि रनौतले ट्विट गर्दै ९९ प्रतिशत बलिउड सेलेब्रिटीले ड्रग्स लिने गरेको बताइन् । ट्विटमा यदि सेलेब्रिटीहरूमाथि टेस्ट गर्ने हो भने सबै जेलमा हुने अभिव्यक्ति दिएपछि विवादित मात्र बनिनन्, यो बयानले उनलाई बलिउडमा एक्लो बनाइरहेको छ । उनले अभिनेत्री रिया चक्रवर्तीको करिअर नै सिध्याउने गरी गतिविधि अघि बढाएकी छिन् । 

-  कंगनाको प्रिय विषय सधैँ नातावाद हो । करणको सोबाट सुरु भएको विषयले आज पनि चर्चा पाउने गरेको छ । यसको क्रेडिट कंगनालाई नै जाने गरेको छ । उनले कैयौँ सेलेब्रिटीलाई नेपोटिजमको आरोप लगाएकी छिन् भने निजीस्तरबाट प्रहार पनि गरेकी छिन् । उनले करणलाई नेपोटिजमको प्रतीक नै बनाइन् । महेश भट्टलाई हत्या गरेको आरोप लगाइन् भने स्टार किडलाई बाहिरको कलाकारलाई बदमास देखाउने खेल खेल्ने गरेको आरोप लगाइन् । उनको हरेक ट्विटमा कोही न कोही निशाना हुने गरेका छन्, तर उनको मुद्दा सधैँ नातावाद नै हुने गरेको छ । 

– एजेन्सीको सहयोगमा