
नेपालमा अहिले के छैन, लोकतन्त्र छ, संविधान छ, संघीयता छ, दुईतिहाइको सरकार छ । अर्थ पनि नभएको होइन । तैपनि, आमनागरिकले सास्ती पाएका छन् । किनभने, व्यक्ति र संस्थाहरूको नैतिक धरातल कमजोर जो छ । नेता र राजनीतिक दलहरूको नियत र नैतिकतामा खोट छ, धमिरा लागेको छ । अर्को कुरा, नेपालमा नीतिहरू प्रशस्त छन्, तर व्यावहारिक व्यवस्थापनका कमजोरी अनेकन छन् ।
विकल्प के ? मूल्यमान्यतामा आधारित राजनीति ! राजनीतिमा सधैँ कालो वा सेतो भन्ने हुँदैन, परिस्थितिअनुसार निर्णय लिनुपर्ने हुन्छ । त्यस्तो निर्णय लिँदा मूल्यमान्यताले व्यक्तिलाई सही दिशा लिन सहयोग गर्छ । मूलतः मूल्यमान्यताले दलको लक्ष्यमा पुग्न लिइएको मार्गदर्शनलाई सुदृढ गर्छ । नेपालको राजनीतिमा लक्ष्य हासिल गर्न कुनै पनि माध्यम जायज हुन्छ भन्ने सिद्धान्त लागू भएको देखिन्छ । यसबाटै व्यक्ति पदमा पुग्छ, दल सत्तामा पुग्छ, तर उसले वा उसको दलले बोकेको लक्ष्य र नागरिकलाई दिएको वाचा स्वार्थको रणभूमिमा मारिन्छ ।
प्रसंग बुझ्न तीन विषय महत्वपूर्ण छन् : नैतिक मूल्यमान्यता, नैतिकता र कानुन । नैतिक मूल्यमान्यता भन्नाले ती मूल्यमान्यताहरू, जसले समाजमा कुन विषय गलत वा सही भनेर बुझाउँछन् । सामान्यतया यसलाई सामाजिक र सांस्कृतिक मापदण्ड भनेर बुझ्न सकिन्छ । ‘चोरी नगर्नु’, ‘झुट नबोल्नु’, ‘बोली र व्यवहारमा फरक नहुनु’ जस्ता कुरा मान्यता हुन् । मान्यता समाज र संस्कृतिअनुसार फरक हुन सक्छन्, समयअनुसार परिवर्तन पनि हुन सक्छन्, जस्तै– महीनावारी हुँदा भान्सामा नजानु । नैतिकताले व्यक्ति र संस्थाको आचरणगत सिद्धान्तहरू बुझाउँछ । यसले ठीक निर्णय लिन र एक–अर्कासँग गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने बाटो देखाउँछ । निष्ठा, पारदर्शिता, उत्कृष्टता, सम्मान, जवाफदेही, अनुशासन, निष्पक्षता, विविधता, सेवक, नेतृत्व इत्यादि अहिलेका प्रचलित मूल्यमान्यता हुन् । दल या अन्य संस्थामा यस्ता मूल्यलाई अझै प्रस्टसँग परिभाषित गरेर यसको आधारमा आचारसंहिता बनाई लागू गरिन्छ ।
समावेशिता र अवसरमा समान पहुँच समृद्ध नेपालको आवश्यकता हो भन्ने बुझ्नु व्यावहारिक राजनीतिको पहिलो पाइला हुनेछ
राजनीतिमा संविधान, ऐन, कानुन एवं मूल्यहरूलाई विवेक प्रयोग गरेर सन्तुलनमा राख्न सधैँ प्रयासरत रहनुपर्छ । अब व्यावहारिक राजनीतितिर जाऔँ । राजनीतिमा वैचारिक छलफलको अलग्गै महŒव छ । यद्यपि, अधिकांश आमनागरिकको लागि राजनीतिसँगको सरोकार भनेको दैनिक जीवन कतिको सहज छ या छैन भन्नेमा मात्र सधैँ जोडिएको थियो र अहिले पनि त्यही हो । संसारभरका आन्दोलन यो वाद वा त्यो वाद स्थापित गर्नभन्दा पनि भेदभावको अन्त्य, वाकस्वतन्त्रता र मौलिक अधिकारको स्थापनाका लागि आमनागरिक मैदानमा उत्रेका हुन् । नेपाली जनतालाई न त माओसँग, न अरू कसैसँग मतलब छ । नेपाली जनताको चाहना भनेको धारामा पानी आओस्, लोडसेडिङ नहोस्, सुलभ स्वास्थ्य प्रणाली होस्, दुई छाक मिठो खान पाओस् र छोराछोरीको पढाइ राम्रो होस् भन्ने हो । तसर्थ, मूल्यमान्यतामा आधारित राजनीति र व्यावहारिक राजनीति अपरिहार्य छ ।
केही हप्ताअघि घनश्याम भुसालजीले ‘आज नेकपासँग सबै थोक छ, तर विधि छैन, त्यसैले केही पनि छैन’ भनेर लेख्नुभएको थियो । वास्तवमा, नेकपाको समस्या मूल्यमा आधारित राजनीति नगर्नु हो । अहिले नेकपा मूल्यहीन राजनीति गरिरहेको छ, कम्तीमा यसका क्रियाकलापले यसै भन्छ । यदि नेकपाका नेताहरूसँग नैतिकता थियो त विधि बनाउँथे, विधिअनुसार चल्थे । ८ वर्ष लगाएर मुलुकको संविधान बनाउन सकिन्छ, केही महिना लगाएर दलको विधि निर्धारण गर्न नसकिने होइन । विधि हुँदा दलीय लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ । महाधिवेशन सजिलै गर्न सकिन्छ । तर, ‘नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो’ भन्ने पार्टीले अहिले व्यवहारमा के लागू गरेको छ ? ऊवेला एमालेले ‘सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने’ उद्देश्य बोकेको थियो । सत्तामा पुगेपछि यो उद्देश्य बिर्सियो । देश–विदेशमा रहेका श्रमजीवीहरूका मुद्दा हराएर गए । वैकल्पिक राजनीति गर्छु भन्ने दलहरू चुक्नुको एउटा कारण मूल्यमान्यतामा ध्यान नदिनु हो ।
अल्पकालीन फाइदा हेरेर पपुलिजमपट्टि लाग्दा दीर्घकालीन बाटो बिराएको अनुभूति हुन्छ । लोकतान्त्रिक मूल्यमान्यताको जग बसाल्नुभन्दा सत्तामा पुग्न हतार छ । साझा पार्टी र नयाँ शक्तिबाट सुरु हुँदै बनेको जनता समाजवादी पार्टीले अहिलेसम्म एकपटक पनि महाधिवेशन गरेका छैन । कांग्रेस र नेकपाको राजनीतिक चरित्र नक्कल गरेर नागरिकले कस्तो विकल्प पाउने हो ? एरिस्टोटलले राजनीति र शिक्षणलाई दुई महान् पेसा हुन् भनेका थिए । मूल्यविनाको राजनीति ‘महान्’ नभएर पेसामा मात्र सीमित हुन पुगेको छ । अव्यावहारिक राजनीति नेता र कार्यकर्ताको खाने भाँडो बन्न पुगेको छ।
मूल्यमान्यतामा आधारित व्यावहारिक राजनीति कसरी स्थापना गर्ने ? यसको सुरुवात घर र छरछिमेकबाट हुन्छ । जब परिवारमा महिलाको समान अधिकार हुन्छ, उमेर सानै भए पनि छोराछोरीको राय सुनिन्छ, चोरी गरेर जाँच पास गरिनुलाई बहादुरी होइन, अपराध ठानिन्छ, तब त्यो समाजले मूल्यमान्यताको मर्म बुझेको हुन्छ । साना बालबालिकालाई परियोजनामा आधारित समुदायकेन्द्रित काम गर्न सिकाउनु पर्छ । शिक्षामा अन्य विषयसँगै सहानुभूति, विनम्रता, साहस, पर्यावरणजस्ता विषयमा पनि छलफल हुनुपर्छ, ताकि सामाजिक जिम्मेवारी बोध के हो बुझून् । कोरोनाले अहिलेको संसार कति परनिर्भर छ भनेर उजागर गरिदिएको छ ।
आजको ज्ञान पाँच वर्षपछि काम नलाग्न सक्छ । यस अर्थमा सधैँ नयाँ कुरा सिक्ने व्यावहारिक तत्परता हुनुपर्छ । दलीय राजनीतिमा व्यक्ति र दलको स्वार्थभन्दा देशको र नागरिकलाई प्राथमिकता दिइनुपर्छ । भ्रष्टाचार संस्थागत हुनुको मुख्य कारण एक–अर्कालाई ढाकछोप गरिनु हो । ‘यो प्रमाण होइन, रेकर्डिङ मात्र हो’ भन्ने मनसायले राजनीतिमा विकृति र विसंगति बढेको हो । गलत काम भएमा, नैतिकताका आधारमा राजीनामा दिनु, मूल्यमान्यतामा आधारित राजनीतिको अभिन्न अंग हो । समावेशिता र अवसरमा समान पहुँच समृद्ध नेपालको आवश्यकता हो भन्ने बुझ्नु व्यावहारिक राजनीतिको पहिलो पाइला हुनेछ ।
(लामा युनिभर्सिटी अफ बर्मिङघममा राजनीतिशास्त्रमा विद्यावारिधि स्कलर छिन्)