१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ १९ शुक्रबार १५:४१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना परीक्षणमा लापरबाही : परीक्षण नै नभई जनप्रतिनिधिकै मोबाइलमा बज्योे ‘रिपोर्ट नेगेटिभ’को घन्टी

पुनः परीक्षण गर्दा मेयर र वडाध्यक्ष नै संक्रमित

Read Time : > 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १५:४१:००

समुदायमै संक्रमण फैलिन थालेपछि काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत कोरोना रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा जुटे । नगरपालिकाले ४ भदौबाट सेवा बन्द गऱ्याे । 

उपत्यकामा निषेधाज्ञा जारी भयो । घरबाहिर निस्किने मानिसहरूको संख्या कम भयो । तर, नगरप्रमुख बस्नेतको भूमिका घटेको थिएन, बरु उनीमाथि नागरिकका थप आशाहरू बढेका थिए । 

विकास निर्माण, बैठक, छलफल र कोरोना संक्रमितको उपचारको पूर्वतयारीमा उनी व्यस्त थिए । चारैतिर संक्रमण फैलिएपछि लक्षण नदेखिए पनि संक्रमणको सम्भावना भएकाले १३ भदौमा मेयर बस्नेतले पिसिआर परीक्षणका लागि स्वाब दिए । 

त्यही दिन नगर क्षेत्रका ९५ जनाको स्वाब संकलन भयो । र, परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । 

भदौ १४ गते दिउँसो मेयर बस्नेत, वडा नं. ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीसहित सबैलाई रिपोर्ट नेगेटिभ रहेको म्यासेज आयो । 

प्रयोगशालाले परीक्षणपछि संक्रमितको गोपनीयता कायम गर्न सम्बन्धित व्यक्तिको मोबाइलमै पोजेटिभ वा नेगेटिभ रहेको जानकारीसहित रिपोर्ट हेर्न मिल्ने युजरनेम र पासवर्डको विवरण पठाउने गरेको छ । 

नगर उपप्रमुख सुशीला अधिकारी भन्छिन्, ‘एकैपटक धेरैको परीक्षण गरे पनि कसैको पोजेटिभ देखिएन, त्यसपछि झन् ढुक्कले सामाजिक गतिविधि भए, त्यही दिन करिब दुई सयको भिडमा रक्तदान कार्यक्रमसमेत भयो, परीक्षण नै नगरी मेसेज आएको भनेर भोलिपल्ट मात्रै थाहा भयो ।’ 

स्वाब लिइएका ९५ मध्ये वडाध्यक्ष बुढाथोकीसहित पाँचजनालाई पोजेटिभ भएको रिपोर्ट १६ भदौमा मात्रै आयो । 

रिपोर्टबारे प्रस्ट नभएपछि मेयर बस्नेत र वडाध्यक्ष बुढाथोकीले बुधबार पुनः स्वाब दिएर परीक्षण गराउँदा दुवैको रिपोर्ट पोजेटिभ आएको छ । उपप्रमुख अधिकारीका अनुसार बिहीबारबाट मेयर बस्नेत र वडाध्यक्षसहित स्वाब दिने सबै होम आइसोलेसनमा बसेका छन् ।

‘नेगेटिभ रिपोर्ट आयो भनेर ढुक्क भएकाहरूमा त्रास फैलिएको छ, सबैलाई सजगता अपनाउन नगरपालिकाको तर्फबाट आग्रह गरेकी छु,’ उपप्रमुख अधिकारीले भनिन् । 

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि प्राविधिक कारणले गलत एसएमएस गएको स्वीकार गरेको छ । कति व्यक्तिलाई त्यस्तो एमएमएस गयो ? भन्ने प्रस्ट उल्लेख छैन ।

बिहीबार निर्देशक रुना झाले प्राविधिक त्रुटिका कारण नमुना परीक्षण नै नभएका व्यक्तिहरूलाई नतिजा नेगेटिभ भएको म्यासेज गएको विज्ञप्तिमार्फत जानकारी दिइन् । 

‘बल्कमा एसएमएस पठाउँदा १६ भदौमा परीक्षणकै क्रममा रहेका केही नमुनाहरूको समेत एसएमएस नेगेटिभ भनी गएको पाइयो, तर प्रयोगशालाले केही घन्टामै थाहा पाएजति नमुनाहरूको सम्बन्धित व्यक्ति र फोकल पर्सनको मोबाइलमा फोन सम्पर्क गरी त्रुटि भएको जानकारी गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘थप सहुलियत दिन प्रयोग गरिने प्रविधिका कारण भएको त्रुटि प्रयोगशालाले लुकाउने प्रयास गरेको छैन ।’ 

डा. झाले अब एसएमएसलाई परीक्षण भएको जानकारीको रूपमा मात्रै लिई वेबसाइटमा देखाइएको रिपोर्टलाई मात्रै आधिकारिक मान्नसमेत आग्रह गरेकी छिन् । 

उनले पिसिआर परीक्षणले समेत २०–३० प्रतिशत नतिजा नेगेटिभ नै दिने सम्भावना रहेकाले नतिजा नेगेटिभ आए पनि निरन्तर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेकी छिन् ।

 नगरपालिकामा संक्रमितको संख्या एक सय २० पुगेको छ भने कोरोनाकै कारण दुई जनाको मृत्यु भएको छ ।