Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
जीवनबहादुर शाही
२०७७ श्रावण २८ बुधबार ०५:५८:००
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोना संक्रमण : मेरो अनुभव 

जीवनबहादुर शाही
२०७७ श्रावण २८ बुधबार ०५:५८:००

संक्रमणकाल

प्रदेश सभा बन्द हुने भएपछि म हुम्ला जाने तयारीमा थिएँ । हुम्ला जानुअगाडि पिसिआर जाँच गराउनु उचित ठानेर २८ असारमा पिसिआर जाँच गराएँ । दुई दिनपछाडि रिपोर्ट आयो । रिपोर्टमा मलाई कोरोना पोजेटिभ देखिएको थियो । 

सधैँ समाचारमा पढिरहेको घटना आफैँमाथि घट्दा एकछिन तनाव हुँदोरहेछ । कसरी संक्रमण भयो ? अब के हुने हो भन्ने चिन्ताले पिरोल्दोरहेछ । संक्रमण देखिएपछि मैले सबैभन्दा पहिले हुम्लामा रहेको परिवारलाई जानकारी गराएँ । चिन्ता नलिन भनेँ । त्यसपछि मेरो सचिवालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र अन्य साथीहरूलाई पनि तनाव नलिनुहोस्, सबैको जाँच हुन्छ भनेर फोन गरेँ । 

मलाई संक्रमण देखिएपछि मेरो सम्पर्कमा रहेका पत्रकार, कर्मचारी, प्रदेश सभा सांसदलगायत आठ सयजनाजतिको परीक्षण भयो । तर, सबैको रिपोर्ट नेगेटिभ आयो । संक्रमण देखिएपछि मलाई डाक्टरहरूले अस्पताल बस्न भनेका थिए । तर, कुनै लक्षण नदेखिएकाले म घरमै बसेँ । घरमै आइसोलेसनमा बस्दा पनि, सुरक्षाकर्मी, सवारीचालक सँगै थिए । उहाँहरूले मेरो स्वास्थ्यको निकै ख्याल गर्नुभयो । अचम्म त के भने मलाई कहाँबाट संक्रमण भयो, अझै थाहा हुन सकेको छैन । थोरै पनि बेहोसियार भइयो भने संक्रमणको उच्च जोखिम हुँदोरहेछ । लक्षण नदेखिने भएपछि संक्रमणको जोखिम झन् बढ्ने रहेछ ।

संक्रमणपछि आइसोलेसनमा बस्दा मैले धेरै तातो पानी खाएँ । लसुन, अदुवा, बेसार, अलैँचीजस्ता खानेकुरा बढी खाएँ । मांसाहारीभन्दा शाकाहारी र प्राकृतिक खानामा बढी जोड दिएँ । कोरोना संक्रमण हुँदा कमजोरी महसुस हुँदोरहेछ, त्यसैले पनि स्वस्थकर खाना धेरै खानुपर्दाेरहेछ । पसिना आउने गरी शारीरिक अभ्यास गर्नु पनि फाइदाजनक हुँदोरहेछ ।

संक्रमण हुँदैमा डराइहाल्नु होइन रहेछ । तर, लापरवाही पनि गर्न नहुने रहेछ । उच्च मनोबलले सजिलै र छिटै कोरोनासँगको लडाइँ जितिने अनुभव मैले गरेको छु । मनोबल कमजोर भयो भने मानिस डिप्रेसनमा जाने र अरू समस्यासमेत बढ्दै जान सक्ने सम्भावना हुँदोरहेछ । कतिपय मानिस संक्रमित भएपछि डराएर, आत्तिएर आत्महत्या गरिरहेका खबर आउँछन् । त्यसैले उनीहरूलाई ढाडस दिने, हौसला दिएर मनोबल बढाउन मद्दत गर्नु आफन्त, साथीभाइ र हामी सबैको कर्तव्य हो । कोरोना संक्रमण भएकैमा कसैलाई छिःछिः, दुरदुर गर्नु अमानवीय त हुँदै हो, त्यसले परिस्थितिलाई थप विकराल बनाउने सम्भावना पनि रहन्छ । हाम्रो देशमा कोरोना संक्रमणबाट निको हुने मानिसको संख्या निकै धेरै छ, जुन उत्साहजनक कुरा हो ।

मलाई संक्रमण देखिएपछि मेरो सम्पर्कमा रहेका पत्रकार, कर्मचारी, प्रदेश सभा सांसदलगायत आठ सयजनाजतिको परीक्षण भयो । तर, सबैको रिपोर्ट नेगेटिभ आयो । 

रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले यस्ता मानिसले आफ्नो खानपानमा सुधार गर्नुपर्छ । वृद्धवृद्धा, दीर्घरोगीको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । अहिले कतिपय मानिस रक्सीले कोरोना निको हुन्छ भन्दै अत्यधिक रक्सी खाइरहेका छन् । यो सरासर गलत हो । कोरोनाको औषधि अहिलेसम्म बनेको छैन । त्यसैले कोरोना जित्ने एउटै उपाय बलियो आत्मबल, स्वस्थकर खानपिन, यथेष्ट आराम, सकारात्मक सोच र डाक्टरप्रतिको भरोसा नै हो ।

म नियमित डाक्टरको सम्पर्कमा थिएँ । आफ्नो स्वास्थ्य अवस्थाबारे दैनिक डाक्टरलाई जानकारी गराएँ । आइसोलेसनमा बस्दा मैले कुनै पनि प्रकारको औषधि खानुपरेको थिएन । संक्रमण देखिएपछि फिजिकल रूपमा तन्दुरुस्त रहनुपर्छ भनेर नियमित शारीरिक अभ्यास गरेँ । संक्रमण देखिएको ११औँ दिन पुनः स्वाब संकलन गरेर जाँच गर्दा म संक्रमणमुक्त भइसकेको थिएँ । तर, कोरोनाको कोर्स १४ दिनको भएको हुँदा म १४ दिन र थप चार दिन आइसोलेसनमै बसेँ । त्यसपछि पनि सामाजिक दूरी कायम गर्दै, पूर्ण रूपमा सुरक्षित भएर मानिसहरूसँग भेटघाट सुरु गरेको छु ।

अहिले संक्रमणमुक्त भएर म मेरो नियमित काममा फर्किएको छु । आफ्नो गृहजिल्ला आइपुगेको छु । कोरोना लाग्दैमा कोही मरिहाल्दैन, जीवन समाप्त भइहाल्दैन । संक्रमितको हौसला बढाउने काम गर्नुहोस्, कोरोनामाथिको जित निश्चित छ । खोकी, ज्वरो, रुघा वा टाउको दुख्दैमा कोरोना संक्रमण भएको हो भन्न मिल्दैन । यस्तो भएमा जाँच भने गराउनुपर्छ । लक्षण नदेखिएका मानिसमा पनि कोरोना पोजेटिभ देखिएका छन् । कोरोनासँग मिल्दो लक्षण देखिएका मानिसलाई कोरोना संक्रमण नभएको उदाहरण थुप्रै छन् ।

यो रोगले धनी, गरिब, ठूलो, सानो, नेता, जनता, डाक्टर भन्दैन । त्यसैले सबैजना सतर्क र सुरक्षित रहौँ । संक्रमणभन्दा पनि बढी असर मनोविज्ञानले पार्ने रहेछ । त्यसैले संक्रमित व्यक्तिलाई माया ममताको बढी खाँचो हुन्छ । संक्रमितलाई अपमान होइन, माया दिनुपर्छ । सबै संक्रमितको मनोविज्ञान बलियो बनाउन सबैले मद्दत गरिदिनुहोला । संक्रमण देखिएपछि स्वाभाविक रूपमा एकछिन डर लाग्छ । तर, डरलाई जित्नैपर्छ । डरलाई जित्दा नै रोगलाई जित्न सकिन्छ । 

(पूर्व पर्यटनमन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य शाही संक्रमण निको भएर फर्किएका व्यक्ति हुन् ।)