प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित भएकाे छ। बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत गरे । विपक्षीमा शून्य मत खस्यो ।
सरकारले वास्तविक भूमिअनुसारको नेपालको नक्सा निसान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो। त्यसैमाथि आज मतदान भएको हो । प्रस्तावको खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराउने समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन् । सभामुखले उनको प्रस्ताव खारेज गरिदिएपछि उनी संसद् छाेडेर हिँडेकी थिइन् ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ७ जेठमा नक्सा जारी गरेको थियो ।
त्यसपछि अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो । विधेयक ९ जेठमा दर्ता गरिएको थियो । विधेयक १९ जेठ मा प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।
अब माथिल्लो सदनबाट विधेयक पारित भएमा संविधानको अनुसूची तीनमा रहेको निशान छाप फेरिनेछ।