१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७५ माघ ११ शुक्रबार ०८:२५:००
Read Time : > 1 मिनेट
विश्व

भेनेजुएलामा राजनीतिक संकट विपक्षी नेताले आफैँलाई घोषणा गरे अन्तरिम राष्ट्रपति

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ माघ ११ शुक्रबार ०८:२५:००

भेनेजुएलाको संसद् नेसनल एसेम्बलीका नेता हुँवा गुएइदोले आफूलाई मुलुकको ‘अन्तरिम  राष्ट्रपति ’ घोषणा गरेका छन् । राजधानी काराकसमा आयोजित विरोधसभामा लाखौँ मानिसहरूमाझ ३५ वर्षीय गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुन् । उनको घोषणासँगै वर्षौंदेखि आर्थिक संकटमा गुज्रिएको भेनेजुएलामा राजनीतिक संकट निम्तिएको छ । अमेरिका, युरोपेली युनियन र भेनेजुएलाका केही छिमेकी देशहरूले गुएइदोलाई समर्थन गरेका छन् । घोषणासँगै राजधानी काराकसका सडकमा दशौँ हजारले विपक्षी नेताको समर्थनमा खुसी मनाउँदै जुलुस निकालेका थिए । रंगीचंगी पोसाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झन्डा फहराएका थिए । 

प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भने, ‘भेनेजुएलामा पूर्ण लोकतन्त्रको अनुभूति नहुँदासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिनेछैनौँ ।’ उनले सेनालाई सरकारको आज्ञा नमान्न अनुरोध गरेका छन् । पूर्व विद्यार्थी नेतासमेत रहेका गुएइदोले तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले मदुरोलाई उत्तराधिकारी घोषणा गर्दा विरोध गरेका थिए ।

 विभाजित भयो  अन्तर्राष्ट्रिय समुदाय
भेनेजुएलामा विकसित नयाँ राजनीतिक घटनाक्रमप्रति अन्तर्राष्ट्रिय समुदाय विभाजित भएको छ । गुएइदोलाई अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पले पूर्ण समर्थन गर्ने बताएका छन् । त्यस्तै, युरोपेली युनियन र भेनेजुएलाका छिमेकी देशहरू ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना, इक्वेडर,  पाराग्वेले नयाँ नेतालाई वैधानिक राष्ट्रपतिको मान्यता दिने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै ट्रम्पले मदुरोको सत्ता अवैध भएको दाबी गरे । ‘भेनेजुएलाका जनताले साहसका साथ मदुरो र उनको शासनविरुद्ध आवाज उठाएका छन् र कानुनी शासनको माग गरेका छन् ।’ ट्रम्पले भनेका छन् । अमेरिकाले मदुरो सरकारविरुद्ध सैनिक कारबाही गर्नेबारे तत्काल केही नसोचेको बताउँदै अन्र्तराष्ट्रिय समुदायलाई पनि गुएइदोलाई समर्थन गर्न उनले अनुरोध गरे । क्यानडाले पनि नयाँ नेतालाई समर्थन गरेको छ ।

तर, रसिया, मेक्सिको, बोलिभिया र क्युबाले मदुरोलाई नै समर्थन गरेका छन् । नयाँ नेतालाई समर्थन गर्ने अन्तर्राष्ट्रिय समुदायको रुसले आलोचना गरेको छ । भेनेजुएलामा अमेरिकी सेनाले हस्तक्षेप गरेमा त्यो महाभूल हुने पनि रसियाले चेतावनी दिएको छ । त्यस्तै, टर्कीले पनि मदुरोको समर्थन गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तेइप एड्रोगानले भनेका छन्, ‘मेरा बन्धु मदुरो, उचो शिर बनाउनुहोस्, हामी तपाईंसँगै छौँ ।’ वर्तमान संकट समाधानको एक मात्र विकल्प शान्तिपूर्ण वार्ता भएको राष्ट्रसंघले जनाएको छ । 

 चर्कियो ताजा हिंसा, १६ को मृत्यु
विकसित नयाँ राजनीतिक घटनाक्रमपछि भेनेजुएलामा हिंसा चर्किएको छ । विपक्षी नेता गुएइदोको कदमप्रति भेनेजुएलाको संसद्, सेना र अदालत सबै विभाजित भएका छन् । राजधानी काराकससमेत देशका सबै प्रमुख सहरमा  राष्ट्रपति  मदुरोको विपक्षमा नाराजुलुस भएका छन् । प्रदर्शनमा उत्रिएका सहभागीलाई प्रहरीले गोली चलाउँदा १६ जनाको मृत्यु भएको छ । अस्थिरताको फाइदा लिँदै कतिपय स्थानमा लुटपाट र चोरीका घटना भएका छन् । 

 के छ निकोलस मदुरोको प्रतिक्रिया ?
राष्ट्रपति  निकोलस मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै भेनेजुएलामा रहेका सम्पूर्ण अमेरिकी कूटनीतिज्ञलाई २४ घन्टाभित्र देश छोड्न आदेश दिएका छन् । राष्ट्र«पति मदुरोको पछिल्लो अवस्थाका बारेमा केही सार्वजनिक भएको छैन । भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति  निकोलस मदुरोको शासन संकटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपिरहेको मदुरोको शासनविरुद्ध लगातार विरोध प्रदर्शन भइरहेका थिए । गत वर्ष अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरूले राष्ट्रपति  मदुरो पुनः निर्वाचित भएपछि त्यसलाई अवैध घोषणा गरेका थिए ।