१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शान्ता कमली
२०७५ माघ ६ आइतबार ०७:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चिसोले जमे मनाङका हिमताल

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ माघ ६ आइतबार ०७:०३:००

चिसो अत्यधिक बढेपछि हिमालपारिको जिल्ला मनाङका हिमताल जम्न थालेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार ४९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकरलगायतका ताल जमेका छन् । दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन ।

दिउँसो पनि तापक्रम माइनस
चिसोसँगै मनाङमा जनजीवन प्रभावित बनेको छ । खानेपानीको मुहानसमेत जमेपछि जनता समस्यामा परेका छन् । जाडो बढेसँगै तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस १० देखि माइनस १६ डिग्री सेल्सियससम्म पुग्ने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले केही दिनयता चिसो बढेसँगै आधा दर्जन हिमताल जमेको जानकारी दिए । उनले मनाङका हिमतालका तीनवटा विशेषता रहेको बताए । शरदमा नीलो, वर्षायाममा सेतो र हिउँदमा हिमताल जम्ने उनको भनाइ छ । सोही हिमतालको सौन्दर्य हेर्न सयौँ पर्यटक मनाङ आउने गरेको उनले बताए । ‘चिसो समयमा समेत मनाङमा विदेशी र आन्तरिक पर्यटक आएका छन्,’ उनले भने ।

मनाङका ताल हेर्न बर्सेनि हजारौँ पर्यटक आउने र जाडो समयमा पनि आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । उनले मनाङमा धेरै हिमताल रहेकाले पनि पर्यटकको मात्रमा वृद्धि हुने गरेको बताए । 

मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिन पाउँदा अचम्मित बनेका छन् । एक्याप मनाङका प्रमुख तिरुवाले हिमताल बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बन्ने गरेको बताए । चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेको उनको भनाइ छ । तिरुवाका अनुसार मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्रायः जमिरहेका हुन्छन् ।