१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सुनिता खनाल
२०७५ पौष २८ शनिबार ०७:२४:००
Read Time : > 6 मिनेट
साहित्य

डिभोर्स–एक अध्याय (भाग दुई)

कथा

Read Time : > 6 मिनेट
सुनिता खनाल
२०७५ पौष २८ शनिबार ०७:२४:००

जुन दिन ऊ डिभोर्स भएर कोठातिर लागी, त्यही दिनदेखि म निरन्तर उसको सम्पर्कमा छु । हावाले आफ्नो बहने दिशा परिवर्तन गर्ला । तर, मैले उसको साथ छोड्ने आँट गर्न सकिनँ । ऊ जोसँग खुलेर बोल्न सक्छे । जोसँग दुःख बाँड्न सक्छे । खुसी साट्न सक्छे । त्यो नितान्त मै हुँ ।  वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको महिनौँसम्म ऊ रोइरही । आफैँ हुर्केको आँगन फर्कन सकिन । त्यही त हो समाज । जो खुट्टामा बिझेको खिलजस्तो छ ।

एउटा घर गरेर खान नसकेको आरोप ऊमाथि परिरह्यो । जुन ऊप्रतिको अपमान थियो । कैयौँपटक त आत्महत्यालाई अँगाल्न खोजी । आफ्नै रफ्तारमा कुदिरहेको गाडीबीच हुत्तिई । रोक्ने मै थिएँ । रोकेँ । एक झापड लगाएँ । उसो त उसको मनमा नै थियो घाउ । मैले हानेको बाहिरी झापडको खास असर नहुन सक्थ्यो । जे होस्, मैले उसको मृत्यु बचाएँ । उसको पागलपनमा साथ दिइनँ । नत्र ऊ यो संसारबाट बिदा भइसकेकी हुन्थी । कि अपांग भएर दयाको पात्र बन्न सक्थी । 

ऊ बिस्तारै सम्हालिन थाली । छुटेका तमाम कामका शेषहरूमा आगो जोरी । फेरि जागिरमा फर्किई । मलाई वेलावेला फोनमा आफ्ना कुरा सुनाउँथी ऊ । धेरै कुरा त उसको फेसबुक वाल हेरेरै बुझ्थेँ म । मान्छेले गलत सोचेको कुरा नै कतिवेला सही बनिदिन्छ । र, नराम्रो बुझेको कुरा नै कतै राम्रो पनि बनिदिन्छ । यी सबै समयले मान्छेमाथि गर्ने राजनीति रहेछ । घात जीवनकै सुन्दर परीक्षा रहेछ । पीडा परिस्थितिसँग जुध्ने आँट रहेछ । उसले यतिवेला जस्तो जीवन बिताइरहेकी छे । डाहले धेरैको ध्यान त्यतै खिचिदिन्छ । भित्र के छ ? कस्तो छ ? देखिएको यथार्थभन्दा फरक भोगिएको यथार्थ छ भने त्यो ऊ नै जान्दछे ।

ऊ व्यस्त छे । हामी वेलावेला भेट्छौँ । कफीसपमा जान्छौँ । कफी पिउँछौँ । सानदार गफ गर्छौँ । र छुट्टिन्छाैँ । उसो त उसको डेरा मेरोबाट निकै टाढा पर्छ । तर, मनको दूरी नजिक भएपछि केही परको नहुँदो रहेछ । उसको डेरामा गइरहन्छु म । ऊ विगततिर कहिल्यै फर्किन्न । उसले हिजो बिर्सिई । आज बाँच्दै छे । दुःखपछि सुख आउँछ भन्थे । उसले त्यो सुख लोग्ने गुमाएपछि पाई । केही पाउन केही गुमाउनुपर्ने । तर, उसलाई कहीँ कतै पछुतो छैन । ऊ निकै अगाडि बढिसकी ।  गए रात मलाई उसको फोन आयो । भनी, ‘तिमी मेरो रुममा बस्ने गरी आऊ आज राति । तिमीसँग बहुत कुरा गर्न‘ छ । मलाई आज बिन्दास हुनु छ ।’ म गएँ । ‘जे–जे खान मन छ, सबै भन है । म बनाउँछु ।’ यस्तै भनी । खाना बनायौँ । खानाको आइटम धेरै नै बनाएछौँ । खायौँ । त्यसपछि सुमित्रा बोलिरही । म सुनिरहेँ...।
०००
जब दुई वर्षपहिले जिल्ला अदालतबाट फर्केँ । म पूरै टुटेको थिएँ । आँट र साहस सबै समयले चिथोरिसकेको थियो । कोठामा आएँ । निकै रोएँ । धेरैपटक आफैँलाई खत्तम गरूँ सोचेँ । कसैलाई कल गरिनँ । आमालाई पनि गरिनँ । अरूलाई त झन् गर्ने कुरै भएन । के गरूँ र कसो गरूँले मन भारी बनायो । खाना पकाइनँ । खाइनँ । भित्ताभरि बिहेका फोटा थिए । एक टकले हेरिरहेँ । विगतलाई सुम्सुम्याएँ । आफ्नै टाउको टेबलमा ठोक्याएँ । संसार सकिएको आभासले मुटु रेटियो । 

समय बित्दै गयो । बिस्तारै म कोठाबाट निस्कन थालेँ । भरी सडकले मलाई नै हेरिरहेजस्तो लाग्यो । मानौँ मेरो जीवनबारे सब जानकार छन् । पहिले लेखिएको डायरी त मोहनले खरानी बनायो । खरानीको डोरी बाट्न सकिनँ । अक्षरका कच्चा पाना केही भेट्टाएँ । भलै अक्षर कच्चा थिए । मेरो हृदययको रङ काँचो थिएन । फेरि लेखेँ । केही थपेँ । केही हटाएँ । अक्षरलाई आफ्नै पीडाले स्पर्श गराइनँ । बडो सजग भएँ । किनकि मलाई मरिसकेको विगत ब्युँझाउन मञ्जुर थिएन । 

घाउ पुरिँदै गएपछि मन बलियो हुँदै गयो । त्यसै–त्यसै एक महिना समय पछाडि छुट्टी गयो । उसको नाम लेखिएको सिन्दुर र पोतेलाई एउटै पोको बनाएँ । पशुपति गएँ । पोको फुकाएँ र आर्यघाटमा बगाएँ । सोचेँ, अरू कसैको सिउँदोमा परेको भए भाग्यमानी हुन्थ्यो होला त्यो सिन्दुर । कसैको गलामा परेको भए सुहाग बन्थ्यो होला त्यो पोते । तर, मेरो सिउँदोमा खस्यो । मेरै गलामा बाँधियो । आर्यघाटमा तैरिरहेको सिन्दुर र पोतेलाई हेरेर अन्तिमपटक म बेस्सरी रोएँ । त्योभन्दा पछाडि मलाई उसको नाममा रुनु थिएन । मेरो त्यो हर्कतले मलाई शान्ति दियो । 

मर्न त ऊ मरेको होइन । हाम्रो सहयात्रा मरेको हो । सहसपना मरेको हो । मैले त्यसैलाई बगाएँ । घर फर्किएँ । झम्के साँझ परेको थियो । उसका सारा कपडा पोको पारेँ । सारा फोटो टुक्य्राएँ । डेराको घरअगाडि चउर थियो । त्यसकै एउटा कुनामा पोकापन्तरा राखेँ । आँखा चिम्म गरेँ र सलाई कोरेँ । कोरेको काँटी त्यही पोकोमा हुत्याएँ । एकैछिनमा सारा यादहरू बल्न थाले । र, सँगै बल्यो, मनभित्रको उसको कुरूप चेहरा । रिसले आफैँ राँकोझैँ भएँ । त्यही राँकोमा बलूँ जस्तो पनि लाग्यो । तर, मै सकिएपछि मभित्रको म कसरी बाँच्ला र ? यही सोचेर आफूलाई रोकेँ । 

लाञ्छना सहेरै बचाएको जागिर थियो नै । अब त्यसले मेरो रहर धान्दैन । सपना बचाउँदैन । एक मुठी सासको पनि क्रय–विक्रय हुने यो सहरमा बाँच्नु चुनौती थियो । म बाँचेर मात्र पुग्थेन । मसँग जोडिएको हरकुरा बचाउनु थियो । प्राणको अन्तिम भिख मागिरहेका मेरा सपना बचाउनु थियो । लक्ष्य बचाउनु थियो । जागिरका निम्ति खोलिएका कैयौँ विज्ञापनमा मैले आवेदन दिएँ । भाग्यवश एउटा राम्रो एनजिओले मलाई काम दियो । अर्थात् मलाई विश्वास ग-यो । फिल्डमा हिँड्न थालेँ ।

विश्वासमा खरो उत्रनु थियो मैले । कतै पछाडि निदाएका कविता र कथाहरूलाई ब्युँझाउनु पनि थियो । अब म कसैको शंकाको घेरामा थिइनँ । आरोप लगाउनेवाला कोही थिएन । पिँजडाबाट उडेको चरीजस्तै ठानेँ आफूलाई । राष्ट्रिय दैनिकमा लेख लेखेर पठाउन थालेँ । छापिन थाल्यो । राम्रो प्रतिक्रिया पाएँ । धेरैको आँखामा देखिन थालेँ । मनमा बस्न पुगेँ । साथीसर्कल बढ्दै गयो । जसबाट हौसला मिल्यो । प्रेरणा मिल्यो । त्यसपछि कलमको रफ्तार बढाएँ । त्यहाँदेखि टेलिभिजनसम्म मेरो पहुँच पुग्यो । पैसा पहिलो सर्त थियो । कमाएँ । सँगै कमाएँ, धेरथोर नाम पनि ।

डिभोर्सको वर्ष दिनपछि म गाउँ फर्किएँ । गाउँले सोध्ने हर कठिन सवालको जवाफ दिन अब म तयार थिएँ । एक सालअघि घर गरेर खान नसकेको आरोप लगाउने छिमेकी र आफन्त । अब मेरै बखानमा थिए । सबैले ताप्ने भनेको बलेकै आगो त रहेछ । यतिवेला सायद म बल्दै थिएँ ।   कार्यक्रमहरूमा जान थालेँ  प्रतियोगिताहरूमा गएँ । स्कुले जीवनमा जस्तै कहिल्यै म खाली हात फर्किनँ । हेर न यी भित्ताहरू सम्मानित भएर गमक्क परेझैँ देखिन्छन् । वरदेखि परसम्मका सल्लाह र आफ्नै रहरपछि अन्ततः एउटा कृति निकालेँ । अन्य भूगोलसम्म मलाई तार्ने पुल त्यही कृति बन्यो । म इज्जतकै लागि भनेर उसैसँग बसेको भए ? आज यी दिन छुटिजान्थे । सुमित्रा दाहाल कोसौँ टाढा छुटिजान्थी ।

समयले मलाई उमेरभन्दा निकै अगाडि पाको बनायो । हर दुःखसँग एक्लै लड्न सक्ने बनायो । हिजो आत्महत्या गर्न आतुर म । आज लामो आयु बाँचूँ लाग्छ । केही गरेरै मरूँ लाग्छ । साथमा आमा हुनुहुन्छ । राम्रो कम्पनीमा जागिर छ । धेरथोर बैँक ब्यालेन्स छ । आफ्नै पसिनाले किनेको थोरै जग्गा पनि छ । कुनै पनि अभावले अब त्यति सजिलै मेरो ढोका ढकढक्याउँदैन । पानी परेर फाटेको आकाश जस्तै छङ्ग छ, मेरो दुनियाँ । साँच्चै आज म, बिल्कुल नयाँ सुमित्रा दाहाल भएकी छु । 

मलाइ दोस्रो विवाह गर्न मन छैन । वेलावेला आमा रुनुहुन्छ । आमाको आँसुले मेरो मुटु भक्कानिन्छ । म कमजोर बन्छु । विवाह सन्तान उत्पादनकै निम्ति गर्ने हो भन्ने बुझेकी मेरी आमालाई मेरो उमेरको पिर छ । मेरो एक्लोपनले उनलाई डस्छ । हुन पनि मेरो पीडामा दुख्ने मान्छे उनै त हुन् । आमाकै खुसीका निम्ति फेरि बिहे त गरुँला । आफ्नै हातले बनाएको जिन्दगी फेरि अँगार भयो भने ? बेस्सरी डराउँछु म । हजार कुसवालले क्षणभरमै मेरो सुखको महल भत्काइदिन्छन् । सोच्न नसक्ने गरी मस्तिष्कलाई घाइते बनाइदिन्छन् । 

मन मिल्ने साथीको चाह मेरो मनले पनि त गर्छ । तर, लोग्ने होइन । लोग्ने त ममाथि हाबी भइदिन्छ । मलाई अब ममाथि कोही हाबी भएको मञ्जुर छैन । आजभोलि प्रेम प्रस्ताव धेरैको आउँछ । जो राम्रो पद र ओहदामा छन् । पद र ओहदाले मनको गहिराइ नाप्ने होइन । राम्रो मान्छे भनेर स्विकार्दा फेरि कुमान्छे प¥यो भने ? यस्तै सोचले प्रस्ताव स्विकार्न सक्दिनँ म । मेरा सामु दुर्घटित विगत छ । जस्तो नै अग्रगामी सोच होस्, यो समाज डिभोर्सी केटीलाई हृदयले अँगाल्न डराउँछ । बेहुली बनाएर घरमा भित्र्याउने  आँट गर्न सक्दैन । विगतकै कारण म विचरा हुन सक्दिनँ । अपमानको पात्र बन्न चाहन्नँ । आज मेरो नाम, रूप र यौवन ताकेर नजिक हुनेले भोलि मलाई दोस्रो दर्जाको ठानिदियो भने ? अब म टुट्न सक्दिनँ । 

वेला–कुवेला जीवनको एक्लोपनले बेस्सरी गाँजेर जान्छ । साथीसर्कल छन् । आफन्त सबै मेरै फेवरमा छन् । तर, कुनैवेला कोही छैन जस्तो लाग्छ । मनले कसलाई खोजेको हो ? वा के खोजेको हो ? त्यो मलाई थाहा छैन । आफन्तहरू वरको खोजीमा छन् । डिभोर्सी वा विधुर मेरा लागि योग्य ठान्छन् । त्यस्तै कुरा लिएर आउँछन् । जो मलाई मन पराउँछु भन्छन् । विवाहको प्रस्ताव राख्छन् । तिनीहरू अविवाहित हुन् । अब म कसलाई रोजूँ ? विवाहित वा अविवाहित ? बडो दोधारमा पर्छु म । मलाई विगत दोहो-याउनु छैन । धन मेरो रोजाइमा कहिल्यै परेन । पर्दैन । अरूले दिएको एक हजारभन्दा आफैँले कमाएको एक रुपैयाँ ठूलो लाग्छ मलाई । त्यसमै खुसी हुन्छु म । 

हिजो डिभोर्स हुँदा पनि त मोहनको सम्पत्ति लिन सक्थेँ । आखिर डिभोर्स उसको रोजाइ थियो । सम्पत्ति दिने कर उसलाई लाग्थ्यो । तर, मलाई उसको केही लिनु थिएन । जो मान्छे नै काम लागेन भने उसको सम्पत्ति लिनुको तुक देखिनँ । ऊसँग मेरो कुनै सन्तान थिएन । थियो भने आमाको कर्तव्य निभाउँदा–निभाउँदै मैले आफ्नो करिअर सक्थेँ हुँला । त्यो अर्कै पाटो भयो । नभएको सन्तानको के कुरा गर्न‘ मैले ? अब मैले मेरो नामलाई नभत्काई जिउनु छ । केही पाउनकै निम्ति केही गुमाउन कतै मञ्जुर छैन मलाई । गुम्नु र गुमाउनु जहिले मेरै भागमा हुन्छ भन्ने पनि त छैन । मैले अहिलेसम्म गरेको आत्मसंघर्षको एउटा साक्षी हौ तिमी । बलियो साथी पनि त तिमी नै हौ । तिमीलाई नसुनाए कसलाई सुनाउनु मैले ?


०००
यति भनिसक्दा ऊ निकै चम्किरहेकी थिई । आँट र आत्मबल बडो गज्जबको लाग्थ्यो । उसलाई पिट्नु पिट्यो समयले । पीडाले । आफ्नै भाग्यले । र, गयो सुमित्रा दाहाल बनाएर । फलामलाई जति पिट्यो त्यति आकार दिन्छ । ऊमाथिको पिटाइ अन्ततः सुखद भइदियो । उसले विगत बिर्सिई । अब उसले मोहनलाई पूरै भुलिसकी । नभुल्नु पनि किन ? जसले उसलाई पीडाबाहेक केही थमाएन । दुःखबाहेक केही साटेन । मर्नु र बाँच्नुको दोसाँधमा परोस् सोच्यो र बीच बाटोमा नै हात छाडिदियो । डिग्री सकेर गर्भिणी बन्ने सोचमा थिई ऊ । तर, उसको त्यो सपना मोहनसँग तुहियो । आमा बन्ने सपना त उसको जिउँदै छ अझै । 

ऊ लैंगिक रूपमा छोरी हो । तर छोरै भनेर मरिमेट्नेहरूको मुख बन्द गराउन सफल भई । जीवनको पहिलो भगवान् आमा । जसको साथ उसैले पाई । भाइको जिम्मेवारी उठाई । बाको अभाव त परिवारमै थियो । त्यो अभाव कम गराउन लागिपरी । केही हद सफल पनि भई । यतिवेला उसको जीवनले धेरैलाई लोभ्याउँछ । धेरैको प्रेरणाको पात्र बन्न सकी । कसैको आँखामा आँसु भरिए आफूलाई हेर्न आग्रह गर्छे ऊ । कसैलाई ठेस लागे आफ्नै साहसलाई टेकेर उठ्नु भन्छे । जून पाठ सिकाउने विगत ऊबाट निकै पछाडि छुटिसक्यो । 

उसले जीवनभर नपाएको महत्वपूर्ण  कुरा हो, ‘प्रेम’ । प्रेमीले दिने प्रेम । लोग्नेले दिने प्रेम । निःस्वार्थ प्रेम । अब उसलाई जातसँग सरोकार छैन । भाषासँग सरोकार छैन । उमेर, वर्ण र धन केहीसँग सरोकार छैन । बस्, आत्मिक प्रेमको झिनो चाह छ, उसलाई । विवाह उसको रोजाइ बन्दैन अब । जसबारे हजारपटक सोच्ने छे उसले ।  उमेरभन्दा निकै पाकी भई सुमित्रा । अब उसको आँखाले आँसु बिर्सिएको छ । हाँस्न बिर्सेकी उसले दिल खोलेर हाँस्न थालेकी छे । म उसको नजिकको साथी । उसको घर बसेको हेर्ने रहर छ मलाई । आमा बन्ने उसको पुरानो रहर फेरि नयाँ बनोस् । आफूभन्दा धेरै बुझ्ने मान्छेले सहयात्राको प्रस्ताव राखोस् ऊसँग । फेरि उसले हाँसोको निम्ति कहिल्यै आँसु बगाउनु नपरोस् । 

याे पनि पढ्नुहाेस् : डिभोर्स– एक अध्याय