१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०८:५६:००
Read Time : < 1 मिनेट
विश्व

कंगोको राष्ट्रपतिमा फेलिक्स विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०८:५६:००

प्रजातान्त्रिक गणतन्त्र कंगोका विपक्षी नेता फेलिक्स सिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएका छन् । गृहयुद्धबाट तहसनहस भएको कंगोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटक–पटक भएका ढिलाइले अफ्रिकी देश कंगोमा हिंसात्मक घटना भएका थिए । नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गरे । उनले हत्याहिंसाको शृंखलाबीच मुलुकको नेतृत्व गरेका राष्ट्रपति जोसेफ काबिलालाई ‘लोकतान्त्रिक परिवर्तनका साझेदार’ का रूपमा हेर्न आमजनतासमक्ष आग्रह गरे ।

निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । ‘चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,’ फायुलुले भने । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका थिए । यसपटकको चुनावमा विगत १८ वर्षदेखि राष्ट्रको नेतृत्व गरेका राष्ट्रपति काबिला उम्मेदवार बनेका थिएनन् । राष्ट्रपति जोसेफ काबिलाको पनि समर्थन रहेका इम्मानुएल रामाजानी साडारीले तेस्रो स्थान प्राप्त गरेका थिए । उनले करिब २४ प्रतिशत मत पाएका थिए । खनिज पदार्थमा विश्वकै धनी राष्ट्र कंगोमा काबिलाको सत्तारोहणपछिका दुई वर्षसम्म ठूलो संकट देखिएको थियो ।

सन् १९६० मा बेल्जियमबाट स्वतन्त्र भएको कंगोमा सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन । बिहीबार बिहान चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ सर्वत्र खुसीयाली व्यक्त गर्न थालिएको छ । ‘म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । आजदेखि हामीले उहाँलाई कहिल्यै शत्रुका रूपमा हेर्नेछैनौँ । उहाँलाई हामी मुलुकको लोकतान्त्रिक परिर्वतनमा साझेदार ठान्नेछौँ,’ सिसेकेडीले युडिपिएस पार्टीको मुख्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने ।