१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ११:१९:००
Read Time : > 1 मिनेट
खेलकुद

सन्दीप पहिलोपटक विकेटविहीन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ११:१९:००

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा सञ्चालन भइरहेको बंगलादेश प्रिमियर लिग टी–२० मा पहिलोपटक विकेटविहीन भएका छन् । सिल्हेट सिक्सर्सबाट प्रतिनिधित्व गरिहेका सन्दीपले डेब्यु खेलमा कोमिलाविरुद्ध १६ रन खर्चँदै २ विकेट हात पारेका थिए । दोस्रो खेलमा उनले चिटगोङ भिकिंसविरुद्ध चारै ओभर बलिङ गर्दा विकेट हात पार्न सकेनन् । तर, उनले चिटगोङविरुद्ध कसिलो बलिङ गर्न सफल भए । उनले ४ ओभरमा २१ रन मात्र खर्चिए । 

सात खेलसम्म विकेट
अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज क्लबकै अपरिहार्य खेलाडीका रूपमा नाम कमाइरहेका सन्दीपले पछिल्लो सात खेलमा आफू आवद्ध क्लबलाई विकेट दिलाएका थिए । उनी टी–२० को आठौँ खेलमा विकेटविहीन भए । सन्दीपले अस्ट्रेलियाको चर्चित टी–२० बिगवासमा मेलवर्न स्टार्सका लागि चारै खेलमा विकेट लिए । मेलबर्नबाट उनी बिपिएल खेल्नका लागि बंगलादेश आएका हुन् ।

 सातौँ ओभरमा बलिङ अवसर
सिल्हेटका कप्तान डेभिड वार्नरले सन्दीपलाई सातौँ ओभरमा अवसर दिए । क्रिजमा चिटगोङबाट स्कटल्यान्डका डेलर्पोट तथा बंगलादेशी मोहमद अर्सफुल थिए । बंगलादेशका लागि १ सय ७७ एकदिवसीय, ६१ टेस्ट तथा २३ टी–२० खेलमा प्रतिनिधित्व गरिसकेका अर्सफुलले सन्दीपविरुद्ध ३ रन मात्र बटुल्न सके । पहिलो श्रेणीका ६१ खेलमा अनुभव प्राप्त डेलपोर्टले सन्दीपको पहिलो ओभरमा २ रनबाट खोस्न सकेन । सन्दीपले आफ्नो पहिलो ओभरमा पाँच रन मात्र दिएका थिए । सो ओभरमा सन्दीपले डेलपोर्टलाई दुईपटक विट गराएका थिए ।
 
 एक जोडदार एलबिडब्लू अपिल
सन्दीपले एकैपटक १२औँ ओभरमा बलिङ गर्ने मौका पाए । यसपटक उनले बंगलादेशका मोसाडेक होसैन तथा जिम्बावेका सिकन्दर राजाविरुद्ध बल फ्याँके । यस ओभरमा सन्दीपले लगभग विकेट हात पारिसकेका थिए । उनले मोसाडेकविरुद्ध पहिलो दुई फ्याँक्दा एकपटक दबाबपूर्ण एलबिडब्लू अपिल गरेका थिए । सन्दीपले पिचभन्दा बाहिर बल सीधै मोसाडेकको प्याडमा लागेको थियो । त्यसपछि सन्दीप र विकेट किपरले एलबिडब्लूको अपिल गरेका थिए । तर, बल लेग स्टम्पभन्दा बाहिर गएकाले मोसाडेक आउट हुनबाट बचे । यस ओभरमा मोसाडेकले दुई तथा सिकन्दरले एक रन लिए ।

 एक रनआउट
सन्दीपले फिल्डमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् । उनले इनिङमा चिटगोङका एक ब्याट्सम्यानलाई रनआउट पार्दै पेभेलियनको बाटो देखाएका थिए । इनिङ ७.२ ओभरमा सन्दीपले प्वाइन्टबाट सीधै थ्रो गरेको बल स्टम्पमा लाग्दा डेलपोर्ट रनआउट भए । डेलपोर्टले क्रिज छाड्दा चिटगोङ ६३–२ को अवस्थामा रह्यो । 

 सिल्हेटको रोमाञ्चक जित
बिपिएलमा सिल्हेटले पहिलो जित निकाल्ने क्रममा चिटगोङमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो । पहिलो ब्याटिङ गरेको सिल्हेटले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो प्रत्युत्तरमा चिटगोङले ७ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । सिल्हेटका लागि कप्तान वार्नरले ४७ बलमा सर्वाधिक ५९ रन तथा पुरनले ३२ बलमा ५२ रनको योगदान दिए ।

अन्तिम ओभरमा चौका
सन्दीपले १४औँ तथा १६औँ ओभरमा बलिङ गरेका थिए । यद्यपि, उनले विकेट हात पार्न नसके पनि कप्तान वार्नरलाई खुसी पार्न सफल भए । १ सय ६९ रन पछ्याइरहेको चिटगोङका ब्याट्सम्यानलाई सन्दीपले खुलेर खेल्न दिएनन् । सन्दीपले आफ्नो अन्तिम ओभरमा एक चौका सामना गरे । त्यो पनि जिम्बावेका अनुभवी अलराउन्डर सिकन्दरले सन्दीपको ओभरमा चौका प्रहार गरेका थिए । १२ टेस्ट, ८८ एकदिवसीय र २८ अन्तर्राष्ट्रिय टी–२० खेलेका सिकन्दरले १५.६ ओभरमा लङअफमा चौका प्रहार गर्दै सन्दीपलाई बाउन्ड्रीविहीन हुनबाट रोके । सन्दीपले पहिलो खेलमा एक पनि बाउन्ड्री खाएका थिएनन् । सन्दीप अन्तिम ओभरमा खर्चिलो साबित भए । उनले यस ओभरमा ९ रन दिए । उनले १४औँ ओभरमा केवल ५ रन मात्र खर्चेका थिए ।