१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सत्यमोहन जोशी काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०७:११:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

अरनिको : नेपाल–चीन मित्रताका प्रतीक

Read Time : > 3 मिनेट
सत्यमोहन जोशी काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०७:११:००

नेपाल–चीन सम्बन्धलाई निरन्तरता दिन केही पात्रको योगदान अत्यन्त महत्वपूर्ण छ । चौथो शताब्दीका चिनियाँ भिक्षु थाउ आन र विद्वान् फाहियान, पाँचौँ शताब्दीका नेपाली बौद्ध भिक्षु बुद्धभद्र, सातौँ शताब्दीका चिनियाँ भिक्षु हुयन साङ, भृकुटीजस्ता पात्रले दुई देशबीचको आदान–प्रदानलाई अगाडि बढाए ।

कलाकार अरनिको यही निरन्तरताका एक महत्वपूर्ण कडी हुन् । वास्तवमा चिनियाँ इतिहास र संस्कृतिको श्रीवृद्धिमा अरनिकोको ठूलो योगदान छ । उनी आज नेपाल–चीन परम्परागत सम्बन्ध र मित्रताको प्रतीक बनिसकेका छन् । 

विसं २०१२ सालमा धर्मोदय सभाले काठमाडौंमा चौथो विश्व बौद्ध सम्मेलन आयोजना ग-यो । त्यो सम्मेलनमा चीनबाट १३ सदस्यीय बौद्ध विद्वान्को प्रतिनिधिमण्डल आएको थियो । सम्मेलन सफल भएपछि चिनियाँ टोलीले धर्मोदय सभालाई चीन भ्रमणमा निम्त्यायो । धर्मोदय सभाको १५ सदस्यीय कार्यकारी समितिमा म पनि थिएँ । त्यसैले २०१६ सालमा भिक्षु अमृतानन्दको नेतृत्वमा चीन भ्रमणमा जाने ६ सदस्यीय टोलीमा म पनि परेँ ।

‘चाइनिज बुद्धिस्ट एसोसियसन’ले हामीलाई उनीहरूको कार्यालयमा स्वागत गर्‍यो । कार्यालय बेइजिङस्थित ‘म्याउ यिङ स’ महाविहारको परिसरभित्रै थियो । त्यहीँ नै अरनिकोले तेह्रौँ शताब्दीमा बनाएको श्वेतचैत्य रहेको थाहा पाउँदा म अविभूत भएँ । त्यसपछि उनीबारे अध्ययन गर्ने चाहना ममा पलायो । तर, हामी पर्यटकका रूपमा मात्र गएकाले त्यो सम्भव भएन ।

नेपाल फर्केपछि मैले ‘कलाकार अरनिको र उनको कलाकृति’ शीर्षकमा अनुसन्धानात्मक लेख लेखेँ । यो लेख ‘आर्कियोलोजी : एन इन्टेरेस्टिङ स्टोरी’ नामक पुस्तकमा प्रकाशित भयो । दोस्रोपटक २०२३ सालमा म पुनः चीन गएँ । पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युटका विद्यार्थीलाई नेपाली भाषा पढाउन मलाई निम्त्याइएको थियो । परिवारसहित त्यहाँ पुगेपछि मैले अरनिकोबारे थप अध्ययन गर्न थालेँ । मैले ४० जना विद्यार्थीलाई नेपाली भाषा पढाउनुपथ्र्यो ।

शिक्षकका रूपमा दोस्रोपटक २०३७ सालमा चीन जाँदा भने अरनिकोबारे अध्ययन सहज भयो । यद्यपि, १३औँ शताब्दीका व्यक्तिबारे अध्ययन सामग्री जुटाउन सजिलो थिएन । अरनिकोबारे एकदमै कम सामग्री उपलब्ध थिए । उनको अन्त्येष्टिमा लेखिएको शिलालेख छ भन्ने थाहा भयो । त्यो शिलालेख मेरा विद्यार्थीको सहयोगमा फेला पारेँ ।

एकजना जापानीले पनि अरनिकोमाथि शोध गरेका छन् भन्ने थाहा भयो । जापानका लागि तत्कालीन नेपाली राजदूत बद्रीप्रसाद श्रेष्ठलाई सहयोग मागेँ । उनले त्यो शोध मलाई पठाइदिए ।अरनिको सन् १२४५ मा राजा अभय मल्लको पालामा काठमाडौंमा जन्मिएका थिए । राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तुकलाकार, शिल्पकलाकारको नेतृत्व गरेर उनी तिब्बत पुगे ।

युआन वंशी चिनियाँ सम्राट कुब्लाइ खानको अनुरोधमा तिब्बतका संघनायक पाहसपाले नेपालबाट कलाकार मगाएको विश्वास गरिन्छ । तिब्बतस्थित शाक्य गुम्बाको मण्डपमा दुई वर्षभित्र सुवर्ण चैत्य बनाइसकेपछि अत्यन्त प्रभावित भएका पाहसपाले अरनिकोलाई कुब्लाइ खानको दरबारमा पुर्‍याएका थिए । पाहसपाले अरनिकोको अद्वितीय सीपको उच्च प्रशंसा गरेका थिए । यो बयान सुनेर कुब्लाइ खानले अरनिकोलाई बिग्रेको ढलोटको मूर्ति मर्मत गर्न लगाएर परीक्षा लिए ।

अरनिकोले त्यो मूर्ति पहिलेभन्दा उत्कृष्ट बनाइदिए । लगत्तै सम्राटले नवनिर्मित राजधानी तातु (हालको बेइजिङ)मा श्वेत चैत्य बनाउन लगाए । अरनिकोले सन् १२७१ मा सुरु गरी आठ वर्षभित्र श्वेत चैत्य निर्माण सम्पन्न गरे । अर्को आठ वर्षमा उनले ‘म्याउयिङ स महाविहार’ बनाए । 

अरनिकोको सीपबाट प्रभावित भएर कुब्लाइ खानले उनलाई वास्तुकला विभागको प्रमुख पदमा नियुक्त गरे । आफ्नो जीवनकालमा अरनिकोले तीनवटा चैत्य र नौवटा बौद्धविहार बनाएका थिए । सन् १३०६ मा उनको मृत्यु भयो । चीनमा उतिवेलैदेखि अरनिकोको निकै ठूलो सम्मान गरिँदै आएको छ । उनको समाधिस्थलमा अरनिकोलाई ‘संसारकै अद्वितीय’ भनेर पुकारिएको थियो । मरणोपरान्त उनलाई विशेष सम्मानस्वरूप ‘मिङ हुई’ (कुशाग्र बुद्धि) उपाधि दिइएको थियो । 

मभन्दा अघि अरनिकोबारे व्यवस्थित अध्ययन भएको थिएन । छोएर लेखेका थिए । मैले तेह्रौँ शताब्दीसम्मको इतिहास लेखिदिएँ । मेरो ‘कलाकार अरनिको’ नामक शोधग्रन्थ प्रकाशित भएपछि उनीबारे चर्चा चुलियो ।

चिनियाँ सांस्कृतिक क्रान्तिमा थुप्रै धार्मिक सम्पदा तोडफोड गरिए । तर, सन् १९६१ मै प्रधानमन्त्री चाओ एनलाइले अरनिकोकृत श्वेत चैत्यलाई राष्ट्रिय निधि घोषणा गरी संरक्षण गरे । जसका कारण यो सम्पदा बच्न पुग्यो । त्यसयता पनि चीनमा सरकारी तवरबाट बारम्बार अरनिकोको योगदानको कदर गर्ने प्रयास भएको छ । तर, नेपाल भने लामो समयसम्म अरनिकोबारे लगभग बेखबर थियो । मभन्दा अघि अरनिकोबारे व्यवस्थित अध्ययन भएको थिएन ।

कसै–कसैले छोएर लेखेका थिए । मैले तेह्रौँ शताब्दीसम्मको इतिहास लेखिदिएँ । मेरो ‘कलाकार अरनिको’ नामक शोधग्रन्थ प्रकाशित भएपछि उनीबारे चर्चा चुलियो । उनलाई राष्ट्रिय विभूति घोषित गरियो । हुलाक टिकट छापिए । मैले लेखेको ‘अरनिकोकृत श्वेतचैत्य’ महाकाव्य पहिले नेवारीमा छापिएको थियो । चीन बस्दा मैले दुवै देशका केही साहित्यिक कृतिको तुलनात्मक अध्ययन गरेँ । माओका केही कविता पनि अनुवाद गरेँ ।

चीनबाट फर्केपछि नेपालभाषा एकेडेमीअन्तर्गत मैले ल्याएका अरनिकोसम्बन्धी सम्पूर्ण सामग्री अरनिको श्वेतचैत्य ग्यालरीमा राख्न दिएको छु । काठमाडौंदेखि कोदारीसम्मको ‘अरनिको राजमार्ग’ निर्माणमा चीनले सघाएको थियो । त्यसवेला चीन आजजति धनी थिएन । अझै पनि थुप्रै चिनियाँ गरिबीको रेखामुनि बाँचिरहेका छन् । तैपनि सवा अर्ब जनसंख्या भएको यो देशले निकै ठूलो फड्को मारिसकेको छ । यो कसरी सम्भव भयो त ?

उतिवेला चिनियाँहरू तीनवटा मन्त्रमा विश्वास गर्थे । पहिलो, जनताको सेवा गर भन्ने माओको नारा । यसले जनताको कामलाई प्रमुखता दिन प्रेरित गथ्र्यो । दोस्रो, मूर्ख बुढो मान्छे, जसले पहाड हटाएर देखायो । दृढ इच्छाशक्तिको महत्व बुझाउँथ्यो । असम्भव भन्ने केही छैन । इच्छाशक्ति भयो भने जुनसुकै काम गर्न सकिन्छ भन्ने सिकाउँथ्यो । तेस्रो, ‘मेमोरी अफ नर्मन बेथ्युम ।’ नर्मन बेथ्युम एक डाक्टर थिए । सात समुद्रपारि क्यानडाका उनी जापानसँगको युद्धमा चिनियाँलाई उपचार गर्न ओखतीमुलो बोकेर आएका थिए । यसले आफ्नो निम्ति मात्र गर्ने होइन, अरूका लागि पनि काम गर्नुपर्छ । अन्तर्राष्ट्रिय भावना चाहिन्छ, भन्ने सिकाउँथ्यो । म त्यहाँ बस्दाखेरि माओत्से तुङदेखि सिपाही र स्कुले केटाकेटीसम्मले यी मन्त्र दोहोर्‍याउँथे ।

 यिनै मन्त्रलाई पालना गरेर चिनियाँले आफ्नो देश बनाए, अरू मुलुकलाई उछिनेर अगाडि पुगे र आफूलाई खाँचो हुँदाहुँदै पनि अरूलाई सहयोग गरे । नेपाललाई पनि चीनले ट्रली बस, छालाजुत्ता कारखानाजस्ता थुप्रै उद्योग तथा बाटोघाटो निर्माणमा सघायो । तर, तिनको उचित संरक्षण र व्यवस्थापन हुन सकेन । हामीकहाँ उद्यमशीलताको संस्कृति भएन । हामी १८ वर्षदेखि एउटै मेलम्चीमा भुलिरहेका छौँ । चीनमा कुनै पनि कामका लागि पूरै राष्ट्र लागिपर्ने संस्कृति छ । त्यो संस्कृति सिक्न जरुरी छ ।