१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:४३:००
Read Time : > 2 मिनेट
सम्पादकीय

विद्यार्थीको भविष्यमाथि केयूको खेलबाड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार ०८:४३:००

नेपालमा हाल सञ्चालनमा रहेका सबैजसो विश्वविद्यालय कुनै न कुनै काण्ड वा विवादमा फसिरहेकै हुन्छन् । प्राज्ञिक बहसको केन्द्र विश्वविद्यालय राजनीतिक भर्तीकेन्द्रको अखडामा परिणत हुँदै छन् । कतै चर्को भ्रष्टाचार छ त कतै प्रमाणपत्र र स्वर्णपदकसमेत किनबेच भइरहेका छन् । कतै आफ्ना मान्छेलाई जागिर खुवाउन आफैँ कापी जाँच्ने र पाएको अंकमा समेत व्यापक फेरबदल गर्नेजस्ता हर्कत भइरहेका छन् ।

यतिखेर कुनै पनि विश्वविद्यालयमाथि आमविद्यार्थी र अभिभावकले विश्वास गर्न सकेको देखिन्न । यसैबीच भविष्यमा चिकित्सक बन्ने सपना बोकेर काठमाडौं विश्वविद्यालय (केयू) को एमबिबिएस र बिडिएस कार्यक्रमका लागि प्रवेश परीक्षामा सामेल भएका हजारौँ विद्यार्थीको नतिजामा खेलबाड गरी विश्वविद्यालयले गैरजिम्मेवार हर्कत देखाएको छ । प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा केयूले हदैसम्मको लापरबाही गरेको छ ।

परीक्षाको पहिलो नतिजा सार्वजनिक भएपछि चित्त नबुझेर नौ सय ८६ परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिएकामा पुनः योगको नतिजा सार्वजनिक गर्दा केयूले झनै ठूलो भाँडभैलो मच्चाएको छ । पुनः योगका लागि निवेदन दिने परीक्षार्थीको मात्र नतिजामा फेरबदल नगरी केयूले निवेदन नै नदिने परीक्षार्थीको समेत नतिजा तलमाथि गरेको छ । पहिलो नतिजामा उच्च अंक ल्याएर सफल भएका परीक्षार्थी पुनः योगको नतिजा आउँदा असफल ठहरिएका छन् भने पहिले असफल भएका परीक्षार्थी दोस्रो नतिजामा सफल देखिएका छन् । कैयौँको अंक घटबढ गरिएको छ । 

विद्यार्थीको भविष्य सुनिश्चित बनाउन मुख्य भूमिका खेल्नुपर्ने विश्वविद्यालयले नै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्छ भने त्यस्तो संस्थामाथि आमविद्यार्थी र अभिभावकले कसरी विश्वास गर्ने ?

परीक्षामा सामेल भएका सबै परीक्षार्थी सफल हुन्छन् नै भन्ने हुँदैन । कोही सफल हुन्छन् त कोही असफल । तर, जसलाई आफ्नो नतिजामा चित्त बुझ्दैन, उसले पुनः योगका लागि नियमसंगत ढंगबाट निवेदन दिन पाउँछ । र, परीक्षा सञ्चालन गर्ने संस्थाले पनि निवेदकको उत्तरपुस्तिका पुनः परीक्षण या पुनः योग गरेर उसको मात्र दोस्रो नतिजा सार्वजनिक गर्छ । तर, यहाँ केयूले निवेदन नदिने परीक्षार्थीको समेत नतिजा उल्ट्याएर पहिलो नतिजामा सफल ठहरिएका परीक्षार्थीलाई असफल बनाई विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ ।

नतिजामा हेरफेर भएसँगै पुनः परीक्षा सञ्चालन गर्नुपर्ने माग राखी विद्यार्थी आन्दोलनमा उत्रिएका छन् भने केयूका पदाधिकारी विद्यार्थीका माग सुन्न तयार देखिन्नन् । अझ विद्यार्थी आन्दोलित भइरहेको समयमा विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजू विदेश सयरमा छन् भने रजिस्ट्रार सुबोध शर्मा सम्पर्कमा आउन चाहिरहेका छैनन् । 

विद्यार्थीको भविष्य सुनिश्चित बनाउन मुख्य भूमिका खेल्नुपर्ने विश्वविद्यालयले नै यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्छ भने त्यस्तो संस्था र तिनका पदाधिकारीमाथि आमविद्यार्थी र अभिभावकले कसरी विश्वास गर्ने ? एमबिबिएस र बिडिएसजस्तो संवेदनशील र महत्वपूर्ण विषयको प्रवेश परीक्षामै यसरी खेलबाड गर्ने विश्वविद्यालयले भविष्यमा विद्यार्थीमाथि कसरी न्याय गर्ला ? यसै पनि पछिल्लो समय नेपालको मेडिकल शिक्षा र यहाँका मेडिकल कलेजबारे चरम विवाद सार्वजनिक भइरहेकै छन् ।

मेडिकल कलेजले विद्यार्थीमाथि चरम लुट मच्चाइरहेका छन् । यसबारे शृंखलाबद्ध समाचार सार्वजनिक पनि भई नै रहेका छन् । यसै सेरोफेरोमा केयू पनि जोडिएको छ । उसले पनि रकम लेनदेनका आधारमा यसरी नतिजामा फेरबदल गरेको आरोप लागिरहेको छ । अब यसबारे यथार्थ विवरण सार्वजनिक गर्ने दायित्व विश्वविद्यालय प्रशासनको त हुँदै हो, साथै सरकारले पनि आँखा चिम्लेर बस्न मिल्दैन । तालुक मन्त्रालयले यस विषयमा हस्तक्षेप गर्न ढिलो गर्नु हुँदैन ।