१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १३ सोमबार ०९:४७:००
Read Time : > 2 मिनेट
सेयर बजार

कम हुँदै लगानीकर्ताको उपस्थिति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज १३ सोमबार ०९:४७:००

हिन्दूहरूको महान् चाड दसैँ नजिकिएसँगै सेयर बजारमा लगानीकर्ताको उपस्थिति घट्न थालेको छ । लगानीकर्ता लगानीभन्दा चाडपर्वको मुडमा रहेका कारण बजारमा उपस्थिति न्यून देखिएको हो । फलस्वरूप, साताको पहिलो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ४१ प्रतिशत घटेको छ ।

दसैँ खर्च जुटाउन केही लगानीकर्ता सेयर बिक्री गर्नतर्फ लागेका कारण यस दिनको कारोबार रकम अघिल्लो कारोबार दिनको भन्दा बढेको एक ब्रोकरले बताए । दसैँको सुरुवात भएसँगै केही लगानीकर्ता घरतर्फ लागेका र केही दसैँअघि लगानी नगर्ने रणनीतिमा रहेका कारण ब्रोकर कार्यालयमा लगानीकर्ताको उपस्थिति घटेको उनको भनाइ छ । दसैँअघि सेयर बजारमा उत्साह नआउने एक लगानीकर्ताले बताए । दसँैपछि नयाँ रणनीतिसहित लगानीकर्ता बजार प्रवेश गरेपछि मात्र बजारले गति लिने उनको भनाइ छ । 

 बजार सारांश
नेप्से परिसूचक आइतबार ४ दशमलव ६६ अंक घटेर १ हजार १ सय २५ दशमलव १४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ९८ अंक घटेर २ सय ४६ दशमलव ३३ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४० अंक घटेको छ । यस दिन १ सय ५६ कम्पनीको ४ हजार १ सय २४ पटकको कारोबारमा २४ करोड १४ लाख ९८ हजार ५ सय ५४ रुपैयाँबराबरको ९ लाख २४ हजार १ सय ९० कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३२ दशमलव ३१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ६० रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५६ कम्पनीमध्ये ४८ कम्पनीको सेयरमूल्य बढेको छ भने ७९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा सोमबार नेप्से ओरालो लागे १ हजार १ सय २१ दशमलव ८७ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३० दशमलव १४ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय १८ दशमलव ६० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ३५ दशमलव १४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय २६ दशमलव ८७ रहेको छ । 

 प्रभु बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ३ करोड ३६ लाख २४ हजार रुपैयाँबराबरको १ लाख ४० हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, सानिमा बैंक लिमिटेडको यस दिन २ सय ९० पटकको कारोबारमा २ करोड ५६ लाख ९० हजार रुपैयाँबराबरको ७४ हजार २ सय ९१ कित्ता सेयर कारोबार भएको छ ।

२१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण बैंकको सेयर कारोबार पछिल्ला केही दिनमा बढेको छ । यस दिन सेयर संख्याका आधारमा बैंक अफ काठमाडौंको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन २ करोड ५ लाख ८० हजार रुपैयाँबराबरको १ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन पनि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ३ सय ७८ पटक सेयर कारोबार भएको छ ।  

 ८ प्रतिशत घट्यो हिमालयन ऊर्जाको सेयरमूल्य
यस दिन कारोबारमा आएको हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक ८ दशमलव शून्य ३ प्रतिशत घटेको छ । सो कम्पनीको सेयरमूल्य अघिल्लो दिनको तुलनामा ९ रुपैयाँ घटेर १ सय ३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिन्धु विकास बैंक, गोर्खाज फाइनान्स र समता माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ ।

माछापुच्छ्रे बैंकको सेयरमूल्य यस दिन ५ दशमलव ८० प्रतिशत घटेको छ । यस दिन सेयरमूल्य बढेका कम्पनीहरूको वृद्धिदर भने न्यून रहेको छ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ३ दशमलव ७७ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको सेयरमूल्य २ दशमलव ९४ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ । 

 ९ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक घटेको छ भने २ समूहको परिसूचक बढेको छ । अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३६ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ८३ प्रतिशत घटेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव ५२ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४५ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव ४३ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ४२ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २६ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव १८ प्रतिशत र वित्त समूहको शून्य दशमलव १६ प्रतिशत घटेको छ ।