१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गिरिराजमणि पोखरेल काठमाडाैं
२०७६ असोज १ बुधबार ०८:२९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

आर्टिफिसियल इन्टेलिजेन्स र हाम्रो विज्ञान

प्राचीन कालदेखि नै नेपाली समाजमा वैज्ञानिक खोज, अन्वेषण र उपयोगका यथेष्ट प्रमाण हामीले पाएका छौँ

Read Time : > 3 मिनेट
गिरिराजमणि पोखरेल काठमाडाैं
२०७६ असोज १ बुधबार ०८:२९:००

विश्वले विज्ञान र प्रविधिको क्षेत्रमा अकल्पनीय फड्को मारिसकेको छ । यस क्षेत्रमा दिनानुदिन भइरहेका विकास र परिवर्तनले संसारलाई एउटा अत्यन्त साँघुरो गाउँमा परिणत गरिसकेको अवस्था छ । एकातिर विकसित विश्वले विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व फड्को मारेर त्यसैको बलमा अविश्वसनीय समृद्धि हासिल गरिसकेको छ भने अर्कातिर हामीचाहिँ ४ वैशाखमा अमेरिकाबाट प्रक्षेपित ‘नेपाली स्याट–१’ लाई नै अभूतपूर्व उपलब्धि मानेर मख्ख पर्नुपर्ने अवस्थामा छौँ ।

नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा खासै उल्लेख्य काम हुन नसकिरहेको अवस्थाबीच तत्कालीन मन्त्रिपरिषद्ले २०६९ सालमा राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय ग¥यो । त्यसयता लगातार मनाइँदै आएको विज्ञान दिवसलाई यस वर्षदेखि विशेष महत्वसाथ हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा समिति बनाएर सम्माननीय प्रधानमन्त्रीज्यूकै उपस्थितिमा मनाउने र देशभर नै सम्भव भएसम्म प्रदेश र स्थानीय सरकारले जनस्तरमा एउटा सन्देश दिने गरी विज्ञान दिवस मनाउने निर्णय गरेका छौँ । त्यसैले आज ‘विज्ञान प्रविधि र नव–प्रवर्तन : सामाजिक–आर्थिक रूपान्तरण’ भन्ने नाराका साथ देशभर राष्ट्रिय विज्ञान दिवस मनाइरहेका छौँ । 

नेपालमा विज्ञान विषय पठनपाठन हुने कलेज स्थापना गर्ने अमृतप्रसाद प्रधानको दुर्घटनामा परी निधन भयो । त्यो भावनात्मक पक्षलाई जोडेर उहाँकै स्मृतिमा विज्ञान दिवस मनाइँदै आएको छ । राष्ट्रिय विज्ञान दिवस यही नै हो कि होइन भन्ने विषयमा विज्ञहरूबीच छलफल प्रारम्भ भएको छ । नेपालमा विज्ञानका क्षेत्रमा योगदान दिनुहुने अमृतप्रसाद प्रधान, मुसे थापा, गेहेन्द्र शमशेरलगायत अन्य जोजो हुनुहुन्छ, उहाँहरू सबैलाई हामीले सम्झना गर्नैपर्छ ।

विगतमा उहाँहरूले यस क्षेत्रमा सुरु गरेका या गरेर देखाएका काम त्यसयताका पुस्ताका लागि प्रेरक बन्दै आएका छन् । अन्तर्राष्ट्रिय रूपमा युनेस्कोको आह्वानमा सबै सदस्यराष्ट्रले १० नोभेम्बरलाई अन्तर्राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउने गरिएको छ । प्राचीन कालदेखि नै हाम्रो समाजमा वैज्ञानिक खोज, अन्वेषण र उपयोगका यथेष्ट प्रमाण हामीले पाएका छौँ । प्राचीन बौद्ध भिक्षुहरूले विकास गरेको छपाइसम्बन्धी प्रविधिले त्यतिखेर नै यस क्षेत्रमा उन्नत प्रकारको विज्ञानको विकास भइसकेको थियो भन्न सकिन्छ । विख्यात कलाकार अरनिकोले तत्कालीन समयको प्रविधि प्रयोग गरेर बनाएका कलात्मक कृतिलाई यसका थप ज्वलन्त प्रमाणका रूपमा लिन सकिन्छ ।

वर्तमान विश्वमा जारी चौथो औद्योगिक क्रान्तिबीच आर्टिफिसियल इन्टेलिजेन्सको युगमा एक दिनको विज्ञान दिवस मनाएर मात्रै हाम्रो प्राचीन कालदेखि स्थापित वैज्ञानिक योग्यता र वर्तमानको विज्ञान क्रान्तिको कडी जोडिने देखिँदैन । आजको दिनमा हामीले विज्ञान दिवस मनाउँदै गर्दा भविष्यमा विज्ञान र प्रविधि विकासमा निरन्तर समर्पित हुने र यस क्षेत्रमा उपलब्ध दक्ष जनशक्तिलाई पलायन हुनबाट रोकेर यहीँ उचित अवसर उपलब्ध गराउनेतर्फ मनसा, वाचा, कर्मणा समर्पित हुन सक्नुपरेको छ । 

विश्वमा जारी चौथो औद्योगिक क्रान्तिबीच आर्टिफिसियल इन्टेलिजेन्सको युगमा एक दिनको विज्ञान दिवस मनाएर मात्रै हाम्रो प्राचीन कालदेखि स्थापित वैज्ञानिक योग्यता र वर्तमानको विज्ञान क्रान्तिको कडी जोडिने देखिँदैन
 

अबको युग विज्ञान र प्रविधिकै युग हो । विज्ञान र प्रविधिको उच्चतम विकास र उपयोगविना समृद्धिको सपना देख्नु निरर्थक हुन्छ । अबका दिनमा जेजति गर्न सकिन्छ, त्यसमा विज्ञान र प्रविधि जोडिएकै हुनुपर्छ । तसर्थ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्षिक रूपमै एउटा क्यालेन्डर बनाएर विज्ञान तथा प्रविधिको समयानुकूल विकासका लागि अघि बढ्ने योजना तयार गरेको छ । विज्ञान र प्रविधि उत्पादन शक्तिका रूपमा बदलिएको परिवेशमा अहिलेको अवस्थामा हामीले शिक्षालाई सीपसँग, सीपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग, उत्पादनलाई आर्थिक विकाससँग र आर्थिक विकासलाई समृद्धिसँग जोड्न विज्ञान, प्रविधिको हस्तक्षेपकारी भूमिका निर्माण गर्न जरुरी छ ।

हामी अलि धेरै नयाँ पुस्तालाई समेट्दै तिनलाई अनुसन्धान र सिर्जनासँग जोडेर अघि बढ्न चाहिरहेका छौँ । परम्पराभन्दा भिन्न ढंगले अनुसन्धान र सिर्जनालाई आपसमा जोडेर नयाँ पुस्ता जुन ढंगले आएको छ, त्यसलाई माथि उठाउन भूमिका खेल्नुपर्छ । नेपाल सानो छ र नेपालको सामथ्र्य पनि सानो छ भन्ने हीनताबोध हामीबीच व्याप्त छ ।

अहिलेको आर्टिफिसियल इन्टलिजेन्सको युगमा यो भाव चिर्न अति आवश्यक छ । यो भाषण र नाराले मात्र सम्भव छैन । यसतर्फ ठोस कार्यक्रम र आममानिसले अनुभूत गर्न सक्ने गरी कार्य लक्षित गर्दै हाम्रो समाज विशेषतः नेपाली वैज्ञानिक समुदायलाई भूमण्डलीकरण र पछिल्लो औद्योगिक क्रान्तितर्फ आकृष्ट गर्ने गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय क्यालेन्डरअनुरूप आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनसमेत गर्ने योजनामा छ ।

संविधानतः मुलुकमा तीन तहको सरकार सञ्चालनमा छन् । सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपाली निर्माणको विराट् अभियान पनि चलिरहेको छ । आर्थिक रूपमा समृद्ध हुँदैमा सबै सुखी र खुसी हुन्छन् भन्ने छैन । तर, मान्छेका न्यूनतम भौतिक र आवश्यकीय पक्षलाई सम्बोधन नगरी मानिसले सुख र खुसी प्राप्त गर्न सक्दैन । सुख र खुसी उच्चतम चेतना पनि हो ।

विज्ञान र प्रविधि उत्पादन शक्तिका रूपमा बदलिएको परिवेशमा अहिलेको अवस्थामा हामीले शिक्षालाई सीपसँग, सीपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग, उत्पादनलाई आर्थिक विकाससँग र आर्थिक विकासलाई समृद्धिसँग जोड्न विज्ञान, प्रविधिको हस्तक्षेपकारी भूमिका निर्माण गर्न जरुरी छ
 

अभाव र अप्ठ्यारोबीच पनि मान्छे खुसीसँग बाँचेका छन् । अपरिग्रहका सिद्धान्त लागू गरेकाहरूले आनन्दमय ढंगले जीवन बाँचेका छन् । यसको आत्मीय र भौतिक दुवै मर्मलाई ठीक ढंगले अगाडि बढाउनुपर्छ भन्ने मूल पक्ष हो । दिमाग र मनोमय जगत्सँग सम्बन्धित वैज्ञानिक खोज र अनुसन्धानलाई पनि हामीले ध्यान दिनैपर्छ । 

पछिल्लो समयमा नानो टेक्नोलोजीका विषय हुन् वा अन्य उदीयमान टेक्नोलोजीको विकास र उपयोगका विषय हुन् अथवा जनशक्ति प्रक्षेपण कार्यदलले प्रकाशमा ल्याएको आगामी २५ वर्षसम्म नेपाललाई चाहिने जनशक्तिको आँकलन गर्दा प्राविधिक जनशक्तिको अत्यधिक मात्राको आँकडा, यी सबैलाई सम्बोधन गर्न देशसँग एउटा सही विज्ञान नीति हुन आवश्यक थियो । १५ वर्षपछि हामीले आफ्नो नीति टुंग्याएका छौँ ।

विज्ञान प्रविधि र नवप्रवद्र्धन नीति देशले पाएको छ । जसमा ५ उद्देश्य, ११ नीति, २९ रणनीति र ४९ कार्यनीति रहेका छन् । वैज्ञानिक अनुसन्धानबाट विकसित विश्वका नवीनतम र अत्याधुनिक प्रविधि विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स, सूचना प्रविधि, इन्जिनियरिङ, नानो प्रविधि, बायो प्रविधि अन्तरिक्ष र परमाणु विज्ञानको अधिकतम उपयोग गर्न पाँचवटा प्राथमिकताका क्षेत्र विज्ञान, प्रविधि तथा नव–प्रवर्तन नीतिका मूल पक्ष रहेका छन् ।

अब यही नीतिलाई आधार बनाएर तीनै तहका सरकार, विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था र सहकारीले पनि आफ्नो कार्यक्रम बनाएर अघि बढ्नुपर्छ । सम्भव भएसम्म हामीले अधिकतम नयाँ पुस्तालाई यो कामसँग जोड्नुपर्छ । बदलिँदो परिवेशमा ज्ञानमा आधारित उद्यमशीलताको विकास गर्दै युवापुस्ताले राष्ट्र निर्माणमा योगदान गर्नुपर्छ । युवा वैज्ञानिक, प्राविधिक तथा विशिष्ट प्रतिभालाई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण अभियानमा योगदान गर्न हार्दिक आह्वान गर्छु ।
(पोखरेल शिक्षामन्त्री हुन्)