नागढुंगा सुरुङमार्गमा ट्राफिक नियम मिच्ने १३ जना एकैदिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार १३ चालकलाई कारबाही गरेको हो।
लेन अनुशासन नमान्ने, तीव्र गतिमा चलाउने तथा ओभरटेक गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
ट्राफिक प्रहरीले भनेको छ,‘सुरुङमार्गमा ओभरटेक, तीव्र गतिजस्ता अन्य ट्राफिक नियमविपरीत सवारी चलाउँदा आगलागी हुनेलगायतका जोखिम बढ्ने भएकाले तत्कालै उद्धार कार्यका लागिसमेत असहज हुने भएकाले सुरुङमार्ग प्रयोग गर्दा बढी संवेदनशील भई ट्राफिक नियम पालना गरी सवारीसाधन चलाउनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्पूर्ण सवारीचालकहरूलाई अनुरोध गर्दछ। सुरुङमार्गमा संवेदनशील मार्ग हो, यदि कोही कसैले पटक–पटक लेन अनुशासन, तीव्र गतिजस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएको पाइएमा सो सवारीसाधन र सवारीचालकलाई आगामी दिनमा सुरुङमार्गमा प्रवेश निषेधसमेत हुनेछ।’