मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
असन्तुष्ट नेताहरु
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार १७:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखा कांग्रेसमा लफडा, प्रत्यासीहरूलाई थाहै नदिई सर्वसम्मत घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १७:२१:oo

महाधिवेशन प्रतिनिधि एकतर्फी रूपमा घोषणा गरिएको भन्दै दोलखा कांग्रेसमा विवाद भएको छ। लोकतान्त्रिक प्रक्रिया अपनाउनुपर्नेमा उम्मेदवारहरूलाई थाहै नदिई सर्वसम्मत घोषणा गरिएको भन्दै महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरूले आपत्ति जनाएका छन्।

खुला महाधिवेशन प्रतिनिधिका प्रत्यासी नेविसंघका पूर्वकेन्द्रीय सदस्य विनोद कार्कीसहित सुदर्शन कार्की, राकेश सिवाकोटी र गोपाल तिमल्सिना, खुला तथा युवातर्फका उम्मेदवार नेविसंघ जिल्ला अध्यक्ष सौगात थापाले आपत्ति जनाएका हुन्। उनीहरूले निर्वाचनको तयारी गर्दैगर्दा थाहै नदिई सर्वसम्मत भनी नामावली सार्वजनिक गरिएको दाबी गरेका छन्।

यसअघि मंगलबार प्रदेश सभा (ख) सभापतिका उम्मेदवार पदमराज पाठक, महाधिवेशन प्रतिनिधि (खुला)तर्फका कुशल खड्का र विनोद कार्की, खसआर्यतर्फका उम्मेदवार पुष्प खड्का एवं जनजातितर्फका नारायण श्रेष्ठले निर्वाचन प्रक्रिया तत्काल सुरु गरी निश्चित मिति र कार्यतालिका सार्वजनिक गर्न माग गरेका थिए। उनीहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै जिल्ला निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाएका थिए। केन्द्रीय निर्वाचन समिति र जिल्ला कार्यसमिति दोलखालाई बोधार्थ दिएका थिए।

तर, सर्वसम्मतिको नाममा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत घोषणा गरेपछि उनीहरू आक्रोशित भएका छन्। दोलखा कांग्रेसले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको भन्दै नामावली सार्वजनिक गरेको छ।

अधिवेशन कार्यतालिकाबमोजिम निर्वाचन समितिले उम्मेदवारको मनोनयन दर्ता गरेको थियो। विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली पनि सार्वजनिक भएको थियो। तर, उम्मेदवारहरूसँग छलफल नै नगरी कसैको मञ्जुरी नलिई तथाकथित नेताहरूको स्वार्थबमोजिम निर्वाचनको बाँकी प्रक्रियामा निर्वाचन समिति प्रवेश नगरेको असन्तुष्ट नेताहरूको दाबी छ।

उम्मेदवारहरूबिच छलफल नै नगरी आफूखुसी घोषणा गरिएको नतिजालाई स्विकार्न नसकिने प्रस्ट पार्दै महाधिवेशन प्रतिनिधिका प्रत्यासी कार्कीले भने, ‘मैले हालसम्म पनि उम्मेदवारी फिर्ता लिएको छैन। मलाई सोध्ने काम पनि भएन। मेरो मन्जुरी नलिई सर्वसम्मत भन्दै महाधिवेशन प्रतिनिधि निर्वाचित भएको भनिएको अवैधानिक हो। विधि, पद्धति, प्रणाली र लोकतान्त्रिक आचरण तथा मूल्य-मान्यताविपरीतको कुरा स्विकार्न सकिँदैन। नेतृत्व चयन नेताहरूको गोजीबाट होइन, क्षेत्रीय प्रतिनिधिहरूको माझबाट छानिनुपर्छ।’

उम्मेदवारी फिर्ता नलिएको र कुनै सहमतिसमेत नभएको अवस्थामा सर्वसम्मति भन्दै नामावली सार्वजनिक गरिनु आपत्तिजनक भएको उनको भनाइ छ। ‘लोकतन्त्रको प्रमुख पक्ष विधिको शासन हो। तर, विधि विधानको धज्जी उडाउँदै सर्वसम्मत चयन भयो भन्दैमा सर्वसम्मत हुन सक्दैन। दोलखाको नेपाली कांग्रेस भन्नाले तीन थान नेता बुझाउँदैन,’ कार्कीले भने।

अधिवेशनमा निर्वाचन अधिकृतले औपचारिक रूपमा नतिजा घोषणा नगरी पार्टीसचिव सन्तोष पाठकमार्फत नामावली सार्वजनिक गराएको दाबी उनीहरूको छ। विवादबारे बुझ्न खोज्दा निर्वाचन समिति दोलखाका अधिकृत जयन्त ढकाल सम्पर्कमा आउन चाहेनन्।

यसैबिच, विधानमा व्यवस्था नभएको जिम्मेवारी दिएर पार्टीको अधिवेशन कब्जा गरेको भन्दै कांग्रेस नेता आङ्निमा शेर्पाले  महासमिति सदस्य पदमा नरहने घोषणा गरेका छन्। सर्वसम्मत निर्वाचितको सूचीमा उनको पनि नाम थियो।

↑