मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार २१:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार २१:१२:oo

बर्दिया राष्ट्रिय निकुञ्जले निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि निकुञ्ज खुला गरेको छ।

बर्खायाममा देशभरका अधिकांश राष्ट्रिय निकुञ्जले जंगल सफारीमा रोक लगाउने भए पनि बर्दिया राष्ट्रिय निकुञ्जले बर्खायाममा समेत जंगल सफारी खुला गरेको थियो। निकुञ्ज खुला रहेकाले बर्खाको समयमा पनि स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेका अनुसार चालू आर्थिक वर्ष ०८३/८४ को असोज ५ गतेसम्म ९२७ जना नेपाली, ६४ जना सार्क राष्ट्रका र ९८ जना विदेशी पर्यटक निकुञ्जमा आएका छन्।

बर्खाको मौसम भए पनि निकुञ्जले जंगल सफारी खुला राखेपछि पर्यटकको आगमन भइरहेको रोयल टाइगर कटेजका सञ्चालक राम शाहीले बताए। पछिल्लो समय विदेशी पर्यटकसँगै नेपाली पर्यटक पनि निकुञ्ज घुम्न आउने क्रम बढिरहेको उनले बताए।

‘पछिल्लो समय विदेशी मात्र नभएर निकुञ्ज घुम्न आउने नेपाली पर्यटकको संख्या पनि बढ्दै गइरहेको छ,’ शाहीले भने, ‘निकुञ्जमा पाइने जैविक विविधता, जंगल सफारी, जंगल वाक, र्‍याफ्टिङलगायतका साहसिक पर्यटकीय गतिविधिको प्रचारप्रसार गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ।’

पर्यापर्यटनका दृष्टिले बर्दिया राष्ट्रिय निकुञ्ज महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। निकुञ्जमा बाघ, गैँडा, हात्ती, अजिंगर, चित्तल, मृग, बाह्रसिंगेलगायतका वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा निकुञ्ज पर्न थालेको छ।

जंगल सफारीसँगै जंगल वाक र कर्णाली नदीमा र्‍याफ्टिङलगायतका गतिविधिले बर्दियाको आकर्षण थप बढाएको छ। बर्खाको समयमा समेत निकुञ्जमा जंगल सफारी सञ्चालन भइरहेको छ।

↑