लगातार प्राकृतिक विपतकाे सामना गरिरहेको नेपालमा विदेशी पर्यटक आगमन भने बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो।
पर्यटक आगमनमा वृद्धि भए पनि बजारगत अवस्था भने मिश्रित छ। दक्षिण एसियाबाट आउने पर्यटक २३.९ प्रतिशत बढेर ३० हजार ८५ पुगेका छन्। अघिल्लो वर्ष यस क्षेत्रबाट २४ हजार २८५ पर्यटक आएका थिए।
अन्य एसियाली मुलुकबाट आगमन ५८ प्रतिशत बढेर १९ हजार ८८८ पुगेको छ। यसमा चीनको वृद्धि उल्लेख्य छ। गत वर्ष सेप्टेम्बरमा पाँच हजार २३७ चिनियाँ पर्यटक आएकोमा यस वर्ष ११ हजार २१२ पुगेका छन्। चीनबाट पर्यटक आगमन ११४.१ प्रतिशत बढेको हो।
भारतबाट १७ हजार ४२५, श्रीलंकाबाट सात हजार १०८ र बंगलादेशबाट तीन हजार ९६४ पर्यटक नेपाल आएका छन्। जापानबाट आउने पर्यटक पनि ४५.४ प्रतिशत बढेर दुई हजार ६६ पुगेका छन्।
यता युरोपबाट पर्यटक आगमन ८.७ प्रतिशत घटेर १५ हजार १४८ मा झरेको छ। बेलायतबाट आउने पर्यटक २५.२ प्रतिशत घटेर तीन हजार ७२५ पुगेका छन्।
अमेरिकी महादेशबाट आउने पर्यटक पनि १२.३ प्रतिशत घटेर १० हजार १०७ मा सीमित भएका छन्। अमेरिकाबाट मात्रै आठ हजार २९९ पर्यटक आएका छन्।
यसैबिच मध्यपूर्वबाट आउने पर्यटक भने ११.९ प्रतिशत बढेका छन्। समग्र तथ्यांकले प्राकृतिक विपतकाे चुनौतीका बाबजुद एसियाली बजारको वृद्धिले नेपालको पर्यटक आगमनलाई माथि उकासेको देखाएको छ।