नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट हेटौँडा–९ की १८ वर्षीया अभिप्सा पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन्।
पौडेल यसअघि कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी थिइन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि पौडेलले १८ वर्षकै उमेरमा प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा राजनीतिक पुस्तान्तरणसँग जोडेर हेरेको बताइन्। आफ्नो परिवारका अग्रजहरू कांग्रेसको राजनीति र सिद्धान्तसँग जोडिँदै आएको उल्लेख गर्दै उनले आफू पनि त्यही राजनीतिक संस्कारबाट अगाडि बढेको बताइन्।
‘मेरा लागि यो व्यक्तिगत जित मात्रै होइन, एक पुस्ताबाट अर्को पुस्तामा राजनीतिक जिम्मेवारी हस्तान्तरणको सुरुवात पनि हो,’ उनले भनिन्, ‘महाधिवेशन प्रतिनिधिलाई पदभन्दा जिम्मेवारीका रूपमा लिएकी छु।’
पौडेलले महाधिवेशन प्रतिनिधिको जिम्मेवारीलाई पार्टीभित्र युवापुस्ताको आवाज राख्ने अवसरका रूपमा लिएको बताएकी छिन्। युवा र महिलाको सहभागिता संख्यामा मात्रै सीमित नभई पार्टीको निर्णय प्रक्रियामा पनि प्रभावकारी हुनुपर्ने उनको भनाइ छ।
कांग्रेस आफ्ना लागि केवल राजनीतिक संगठन नभई विचार, सिद्धान्त, इतिहास र परिवारको राजनीतिक संस्कारसँग जोडिएको संस्था भएको उनले उल्लेख गरिन्।
बिपी कोइरालाले अघि सारेको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र सामाजिक न्यायका विचारलाई आत्मसात् गर्दै पार्टीभित्र युवाको ऊर्जा र महिला नेतृत्वलाई बलियो बनाउन भूमिका खेल्ने उनको भनाइ छ।