पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी भइरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा मन्त्री लम्सालले व्यवसायमैत्री वातावरण निर्माणका लागि कानुन संशोधनको काम भइरहेको जानकारी दिएका हुन्।
‘प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माण गर्ने हो,’ उनले भने, ‘हामीले हालै फोहोर व्यवस्थापनको क्षेत्रमा पनि यसको अभ्यास गरेका छौँ। फोहोर व्यवस्थापनलाई व्यवसायका रूपमा विकास गर्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाएका छौँ।’
मन्त्री लम्सालले उद्योगले हाल भोगिरहेका समस्या समाधानका लागि पनि काम भइरहेको बताए। उद्योगका लागि आवश्यक कच्चा पदार्थ ढुवानीमा प्रयोग हुने सवारीसाधनको भन्सार दरलाई शून्य बनाउने र सम्भव भएसम्म कच्चा पदार्थ उपलब्ध हुने ठाउँमै उद्योग स्थापना गर्ने विषयमा काम भइरहेको उनको भनाइ छ।
छलफलका क्रममा सांसद सागर ढकालले पूर्वाधार निर्माणमा तीनवटा सिफ्टमा २४ सै घण्टा काम गर्न आवश्यक रहेको उल्लेख गरे। नेपालका लागि कफी खेतीको राम्रो सम्भावना भएकाले कफी उत्पादन र निर्यात बढाउन कानुन संशोधन गर्नुपर्नेमा समेत उनको जोड थियो।
यसैगरी, सांसद आशीष गजुरेलले सार्वजनिक यातायातलाई पिपिए मोडलमा लैजान सुझाव दिए। ‘स्मार्ट ट्रान्सपोर्टेसन’को अवधारणामा जान र निजी लगानीलाई प्रोत्साहन पनि आवश्यक रहेको उनको भनाइ थियो।