पहिरोले ग्यास आपूर्ति झन् कठिन, २९ बुलेट बाटोमै अलपत्र (उद्योग र बुलेटको सूचीसहित)

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

दुई दिनदेखि लगातार परेको वर्षाले काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गमा अवरोध हुँदा ग्यास आपूर्ति झन् कठिन बनेको छ । केही दिनयता भारतबाट आयात बढाएर उपत्यकामा बिक्री पनि बढाइरहेको अवस्थामा शुक्रबार बिहानदेखि काठमाडौं जोड्ने मुख्य सडकहरू अवरुद्ध छन् । 

आयल निगम र उद्योगीबाट प्राप्त सूचीअनुसार शुक्रबार दिनभरमा वीरगन्ज नाकाबाट ग्यास बोकेका ४८ बुलेट भन्सार जाँचपास भएका छन् । यीमध्ये ३० वटा बुलेट धादिङ, काभ्रे, काठमाडौं र ललितपुरका उद्योगका हुन् । जसले काठमाडौं उपत्यकामा ग्यास भरेर पठाउने गरेका छन् ।

प्राप्त विवरणअनुसार शुक्रबार वीरगन्ज भन्सारबाट काठमाडौंको बालाजुस्थित नेपाल ग्यासका लागि सबैभन्दा धेरै सातवटा बुलेट पास भएका छन् । नेपाल ग्यासको नारायणी र गण्डकी शाखाका लागि थप एक–एक बुलेट पनि भन्सार पास भएका छन् । त्यस्तै, ललितपुरको चल्नाखेलमा उद्योग रहेको एभरेस्ट ग्यासको दुई, धादिङमा उद्योग रहेको साल्ट ट्रेडिङको एसटिसी ग्यास, श्री ग्यास र सुगम ग्यासको तीन–तीनवटा बुलेट भन्सार पास भए पनि प्लान्टसम्म आइपुगेका छैनन् । 

भन्सार पास भए पनि बाटोको असुविधाले उद्योगसम्म बुलेट ल्याउन सक्ने अवस्था नरहेको एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिए । ‘भारतबाट धमाधम लोडिङ बढाएर ग्यास आपूर्ति सहज बनाउने दिशामा सबै पक्ष जुटेका थियौँ । तर, दुई दिन लगातार परेको वर्षाले मुख्य राजमार्गहरू अवरोध हुँदा चुनौती थपिएको छ,’ उनले भने ।

बिहीबार वीरगन्ज भन्सारबाट ४९ बुलेट पास भएका थिए । यी बुलेटहरू भने राति नै सम्बन्धित उद्योगमा पुगिसकेको संघले जनाएको छ । राति बुलेट पुगेकाले बिहानदेखि ग्यास भरेर उपत्यकामा ४० हजारभन्दा बढी ग्यास सिलिन्डर शुक्रबार आपूर्ति गरिएको संघले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार पास भएका बुलेटको विवरण
ग्यास कम्पनी   - बुलेट संख्या
एभरेस्ट ग्यास  -  २
एचपी ग्यास  -  २
श्रीमाया ग्यास  -  १
एसटिसी ग्यास -   ३
नमस्ते ग्यास   - १
नेपाल ग्यास  -  ७
राजधानी ग्यास   - १
श्री ग्यास  -  ३
श्रीराम ग्यास -   २
सुगम ग्यास   - ३
श्री कृष्ण ग्यास   - १
सूर्य ग्यास   - २
लोकप्रिय ग्यास    - १

सुझावित समाचार