नर्सिङ होमको शय्या थप्न घुस डिल : गण्डकीका स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो, छानबिन समिति गठन

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

पोखरामा सञ्चालित एक नर्सिङ होमको शय्या थपका विषयमा आर्थिक सौदाबाजीमा जोडिएका गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि वसौलालाई जिम्मेवारीबाट हटाइएको छ।

पोखरा महानगरपालिका– ३ स्थित नदीपुरमा सञ्चालित ५० शय्याको पद्म नर्सिङ होमलाई सय शय्याको अनुमति प्रदान गर्ने विषयमा भएको आर्थिक सौदाबाजीमा प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलका सदस्य लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव वसौला जोडिएको विषय सार्वजनिक भएपछि घटनाको छानबिनका लागि प्रदेश सरकारले तीन सदस्य छानबिन समिति गठन गरेको छ।

प्रदेश सरकारका तर्फबाट सोमबार जारी प्रेस विज्ञप्तिमा पछिल्लो समयमा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका निवर्तमान मन्त्री, निजका स्वकीय सचिव, सोही मन्त्रालयका प्रदेश सचिवलगायतमाथि अस्पताल स्तरोन्नतिको अनुमतिलाई लिएर चर्चामा आएको अनियमितताको विषयमा गण्डकी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

घटना जानकारीमा आउनासाथ प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बसी प्रदेश सचिव वसौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता बोलाई उक्त विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तथा अस्पतालको अनुमति÷स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था, प्रक्रियालगायतका विषयमा सुझावसहितको प्रतिवेदन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ। 

१५ दिनभित्र प्रतिवेदन पेस गर्ने म्याद दिइएको समितिले मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति तथा अस्पतालको स्तरोन्नतिको कानुनी व्यवस्था र अभ्यासलगायतका विषयमा समेत छानबिन गर्नेछ।

उक्त प्रकरणमा कतिपय विषय भ्रष्टाचार वा आर्थिक पक्षसँग समेत सम्बन्धित भएकाले थप अनुसन्धान तथा आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा पत्राचार गरिएको, उक्त अस्पताल स्तरोन्नति तथा अनुमतिसम्बन्धी विषय हाल अनुसन्धान तथा छानबिनको प्रक्रियामा रहेकाले छानबिनबाट उक्त विषयको वैधानिकता तथा प्रक्रियागत अवस्था स्पष्ट नभएसम्म सम्बन्धित अनुमतिको निर्णय कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने सम्बन्धमा प्रदेश स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ।

यसअघि नेकपा एमाले, प्रदेश सभा संसदीय दलको कार्यालय, गण्डकी प्रदेशले १५ दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी आइतबार एक समिति गठन गरेको थियो। निवर्तमान स्वास्थ्य मन्त्रीसमेत रहेका एमाले संसदीय दलका सदस्य पाण्डे र उनका स्वकीय सचिव पौडेलका विषयमा छानबिन गर्न पार्टीले समिति बनाएको हो।

सार्वजनिक विवरणअनुसार पोखरा–३, नदीपुरमा रहेको पद्म नर्सिङ होम हाल ५० शय्या क्षमतामा सञ्चालनमा छ। सो अस्पतालको शय्या थप गरी सय शय्याका लागि अनुमति प्रदान गर्ने विषयमा सुरुमा २० लाख हुँदै २५ लाख र ३० लाख रुपैयाँसम्मको रकम सौदाबाजीको विषयमा कुरा भएको खुलेको छ। जसको भिडियोसमेत सार्वजनिक भइसकेको छ। भिडियोमा सचिव वसौलाको संलग्नतामा कुरा भएको देखिन्छ।

मन्त्रीको निवासमा खिचिएको भिडियोमा पूर्वमन्त्री पाण्डे र अस्पतालका सञ्चालकहरुको उपस्थितिमा रकम लिनेदिने सम्बन्धी कुराकानी भएको छ। शय्या थपका लागि ३० लाखको डिल भएपछि नर्सिङ होमको खाताबाट मन्त्रीका स्वकीय सचिव पौडेलको नाममा ३० लाख रुपैयाँको चेकसमेत काटिएको बताइएको छ।

सुझावित समाचार