सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच भेटवार्ता भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा मंगलबार दिउँसो भएको भेटमा राजदूत मिङ्ले भोटेकोशी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे।
खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए। विपतलगत्तै उद्धारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने उनले बताए।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। नेपालको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हेने बताउँदै उनले आगामी दिनमा थप सहकार्यको आग्रह गरे।