नेपाली कांग्रेसको महाधिवेशन रोक्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दर्ता गराएको पूरक निवेदनमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वाेच्चले अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो । न्यायाधीशहरू डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले महाधिवेशन रोक्न अस्वीकार गरेको हो ।
कांग्रेसको संस्थापन पक्षले आगामी असोजमा १५ औँ महाधिवेशन गर्न लागेको हो । सो महाधिवेशन रोक्न देउवा र खड्काले दर्ता गरेको पूरक रिट मंगलबार दर्ता भएको थियो । ४ वैशाखको फैसलामा कुनै आदेश निर्देश नगरी निवेदन खारेज गरेको अवस्थामा अहिले प्रथम दृष्टिमै अन्तरकालिन आदेश आवश्यक नभएको संक्षिप्त आदेशमा उल्लेख छ।
सर्वाेच्चले यसअघि कांग्रेसको आधिकारिकता विवादमा पुनः फैसला गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि देउवा र खड्काले त्यसमा फैसला नभएसम्म महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनीहरूको मागलाई सर्वाेच्चले अस्वीकार गरेको छ ।

