विशेष अदालतले सम्पति शुद्धीकरण मुद्दामा व्यवसायी ऋषिराज मोरसँग एक करोड धरौटी माग गरेको छ। बिहीबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मोरलाई धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको हो।
मोरले दीपक भट्टलगायत अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा गैरकानुनी रूपमा सेयर बजार प्रभावित पारी सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ। उनीहरूले हिमालयन रिइन्स्योरेन्सको रकम दुरुयोग गरी व्यक्तिगत नाममा सेयर खरिद गरी पुनः हिमालयन रिइन्स्योरेन्सालाई नै बिक्री गरी भृकुटी स्टक ब्रोकिङ कम्पनीसँगको मिलेमतोमा धितोपत्र बजारलाई नै प्रभावित पारेको आरोपपत्रमा उल्लेख छ।
‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी ऋषिराज मोरबाट एक करोड रुपैयाँ नगद धरौट वा सोबराबरको बैंक जमानत लिई निज प्रतिवादीलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू,’ अदालतकाे आदेशमा भनिएको छ।