जिल्ला अदालत धनकुटामा गत आर्थिक वर्ष ०८२/८३ मा ७५९ वटा मुद्दा दर्ता भए। दर्ता भएकामध्ये ३५२ वटा मुद्दा सम्बन्धविच्छेदका छन्।
कानुनी व्यवस्थाअनुसार पुरुषले पनि सिधै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने, वैदेशिक रोजगारी, आर्थिक– सामाजिक–मनोवैज्ञानिक कारणले पनि सम्बन्धविच्छेदका घटना वृद्धि भएको जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए।
जिल्ला अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रोमा लागुऔषधसम्बन्धी मुद्दा थिए। गाँजासम्बन्धी ३८, ब्राउन सुगरसम्बन्धी १८ र अन्य लागुऔषधका १७ वटा गरी ७३ मुद्दा दर्ता भएको थियो।
लागुऔषधसम्बन्धी मुद्दामा संलग्नमध्ये अधिकांश युवा तथा किशोर रहेका छन्। अदालतका अनुसार जिल्लामा गत आर्थिक वर्षमा जबर्जस्ती करणीका ३१ वटा मुद्दा दर्ता भएका थिए।
गत आर्थिक वर्षमा दर्ता भएका ७५९ मुद्दामध्ये ६५३ वटा फर्स्योट भएका छन् भने १०६ वटा मुद्दा फर्स्योट हुन बाँकी रहेको अदालतले जनाएको छ।