मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
माधव घिमिरे ‘अटल’
२o८३ श्रावण १६ शनिबार o८:२८:oo
Read Time : > 2 मिनेट
साहित्य प्रिन्ट संस्करण

नेपालमा बसेर जापानी स्वाद

Read Time : > 2 मिनेट
माधव घिमिरे ‘अटल’
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o८:२८:oo

हातमा छ, छ, हरिश कल्पितकृत ‘ग्याब्रियले’ कथासंग्रह । भूमिका लेख्ने सिलसिलामा जानेमाने नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ले समय र सम्बन्धलाई सापेक्षताको कसीमा घोटिएका कथाहरूको संग्रह भनी लेपन लगाएका छन्– ‘ग्याब्रियले’लाई । १३ वटा कथालाई ‘ग्याब्रियले’ शीर्षकीय कथाहरूको मालामा उनिएको छ । कल्पितको ‘आस्था’पछिको दोस्रो साहित्यिक सन्तान रहेछ यो कृति । आफ्ना सन्तानलाई मन नपराउने खासै कुन बाबु वा आमा पो हुन सक्ला र । 

अब एकछिन विचरण गरौँ कथासंग्रहको शीर्षकतिर । ‘ग्याब्रियले’ अर्थात् ईश्वर नै मेरो शक्ति हो । एउटा दुःखद एवं बिछोडको कारुणिक संयोग छ यो शीर्ष कथामा । जहाँसम्म संग्रहभित्र समाविष्ट कथाहरू छन्, ‘मोहभंग’ शीर्षकबाट शुभारम्भ भई ‘एडमको प्रेम’मा टुंगिँदासम्म कतै पट्यारिलो अनुभूतिविना नै पठन सकिन्छ ।

त्यसो त हाम्रो जीवन स्वयं पनि त कथा र उपकथाहरूको शृंखला न हो । प्रेम, वियोग, हर्ष, आँसु, पीडा, ग्लानि सबैसबैको संगम नै त हो, समग्र जीवन । जीवनमा छिचोलेका कतिपय अपेक्षित–अनपेक्षित, सजिला–अप्ठ्यारा कुइनेटाको सारका रूपमा पाठकमाझ आएको एउटा दर्बिलो आख्यान संग्रह हो– ग्याब्रियले ।

सासूको शेषपछि छोराझैँ लाडप्यारमा हुर्काएको देवरले श्रीमतीको लहलहैमा लागेर दाजुभाउजूलाई त्याग्न संकल्प गरेका कारण देवरप्रति भएको मोहभंग समेटिएको कथा ‘मोहभंग’ हो भने अमेरिकाबाट नेपाल फर्केको नवधनाढ्य ज्वाइँ छान्दा आफ्नी छोरीलाई समेत ज्वाइँकै एड्स सरी चिहिलबिहिल भएको कथानक छ ‘बिहे’मा । आफूले अति नै चाहेर पनि उसको रोगका कारण आफ्नो बन्न नसकेको प्रेमीले मृत्युलाई अँगालेको समाचार सुनेपछि प्रेमिका पश्चात्तापको अग्निले जल्न पुगेको विषय उठाइएको कथा ‘पुष्पलता’ हो ।

आमा, बाबुको लाडप्यारलाई लत्याएर बिदेसिएको छोरो यता आमा हृदयाघातले इहलीला गुमाएपछि र उता श्रीमतीको दुर्घटनामा ज्यान गएपछि पिउसो छोरो च्यापेर प्रत्यागत हुँदाको हृदयविदारक कहानी हो– मोहजाल । टीकोटालो गर्ने दिनमा तत्कालीन विप्लविशक्ति माओवादीले थापेको विद्युतीय धरापमा परी कीर्तिशेष हुँदा प्रतीक्षा गरी बसिरहेकी हुनेवाला बेहुलीको विक्षिप्तताको मुटु चुँड्ने कैरन हो– उहाँहरू आउनु भो मम्मी ? छैटौँ कथा ‘ग्याब्रियले’ कथासंग्रहको शीर्ष कथा पनि हो । आफ्नी छोरीलाई लिएर लिथुआनियाली श्रीमान्लाई चटक्क छोडी बेपत्ता हुने जापानी महिलाको चिसो हर्कतको नालीबेली हो ‘ग्याब्रियले’ भने लैंगिक विभेदबारे आफ्नी श्रीमतीलाई सम्झाइबुझाइ गरेको विषयमा आधारित छ– ‘मेरी प्यारी छोरी’ ।

‘बधाई छ देवयानी’मा गरिबी वा बेरोजगारीकै कारण कसरी दिलमा सजाएको माया खोसिन्छ र अर्कालाई सिफारिस गरेर आफू उम्कने प्रपञ्च रचिन्छ भन्ने विषयको इतिवृत्त समेटिएको छ भने बहिनीका ट्युसन शिक्षकसँग मरिहत्ते गरेर मुटु साटेकी पात्रका श्रीमान् व्याधिग्रस्त भएपछि टुक्रिएको खुसीको चोइटो हो– ‘कृष्ण सर’ । अन्धविश्वासग्रस्त समाजले अति नै प्यारी बुहारीलाई ‘पोइ टोकुवा’ भनेर लाञ्छित गरी घर निकाला गरे पनि अपमानको विष पिएर प्रिय पतिको नासो हुर्काउने संघर्षशील नारीको गाथा ‘अनिमा’ हो भने ‘केइको सेनसेई’ वास्तविक जीवनको यथार्थ कुथुंग्री हो जहाँ विनम्रता, विनयशीलता र असलियतकी प्रतिमूर्ति बनेकी छिन्– भाषा शिक्षिका केइको सेनसेई । बाह्रौँ कथा ‘भ्रमजाल’ मायावी प्रेम, यौवनको रसास्वादनपछिको धोका र खोक्रो प्रेम उदांगिँदा सपनामा बोलेको तितो वाक्य ‘सब झुट हो’ भन्ने हो । दसैँमा घर जान टिकट मिल्दैन पतिसँगको विमतिको संयोग यहीँ मिलेको छ । यसरी नै अन्तिम कथा ‘एडमको प्रेम’ साँघुरो जापानी समाज, मूल पात्रका बाबुको विवाहेत्तर सम्बन्ध र नशाले ज्यान लिएको उनका दाजुका कारण तहसनहस परिवारको विसंगत अवस्था हो । मूल पात्रले आफ्नो समलिंगी बिहेको सपना साकार पार्न जागिर दिलाएको भूमि नै परित्याग गर्नुपर्दाको पीडाको प्रतिबिम्ब हो यो कथा ।

यसरी तेह्रौँ कथापछि तुरिन्छ कथासंग्रह । कथाका विषयवस्तु हेर्दा किञ्चित वैविध्य देखिए पनि आमकथामा आख्यानीकरणका सीमा बग्रेल्ती भेटिन्छन् भने वर्णविन्न्यासमा पर्याप्त ध्यान नपुग्दा अस्पष्टता र असंगतिको चाङ नै देखिन्छ । झन्डै आधाआधी कथा अस्वाभाविक ढंगबाट विकास भएका देखिन्छन् । कतिपय पात्रहरू विनाप्रसंग एकाएक देखापर्छन् र निरुद्देश्य अलप पनि हुन्छन् ।

यी तमाम सीमाका बाबजुद कल्पितले जसरी जापानी समाज, संस्कार तथा संस्कृतिलाई आफ्ना केही कथाका अभिन्न अंग बनाएका छन् यसले जापान नपुग्ने पाठकलाई समेत उतै पुगेर यत्रतत्र विचरण गरेको अनुभव दिलाउँछन् । तीव्र भौतिक विकासक्रमका बाबजुद जापानीहरूको मानवीय सम्बन्धमा देखिने चिसोपन र पैसा नै सबथोक ठान्ने प्रवृत्तिलाई पनि कल्पितले उदांगो पारेका छन् । कथामा डुब्दै गर्दासमेत पात्रको नामबाट नामकरण गरिएका अधिकांश शीर्षक परिवर्तन योग्य लाग्छन् ।

भन्नैपर्छ– संख्या पुर्‍याउने हतारो परित्याग गर्दा हरिश थप परिष्कृत बन्न सक्ने सम्भाव्यता बोकेका कथाकार हुन् । अन्त्यमा उनको आगामी कृति थप बलशाली बनेर पाठकको मनमुटुमा घर गर्न सफल बनोस् भन्ने कामना गर्न कन्जुस्याइँ गर्नुपर्ने कुनै दरकार छैन ।