नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिकाकी एक शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जानकी– ३, नयाँ लायकपुरस्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी बालविकास शिक्षक नन्दाकुमारी शाहीविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
शाहीले ०६६ मंसिर ३ गते सोही विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी बुझाएको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी ओहदा, लाभ र सुविधा प्राप्त गरेको आरोपमा शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना मागदाबी गरिएको छ।