नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार नागरिकको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्न बढी केन्द्रित भएको आरोप लगाएका छन्।
आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित सरकारको सय दिनको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले सरकारले दीर्घकालीन समाधानभन्दा प्रचारमुखी कामलाई प्राथमिकता दिएको टिप्पणी गरे।
उनले भूमिहीन तथा सुकुमवासीहरूको समस्या कानुनी व्यवस्था र नीतिगत सुधारमार्फत समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई बस्तीमा डोजर चलाएर प्रचार खोजिएको आरोप लगाए।
‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ। भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक आउँदैनथ्यो, त्यसैले सुकुमवासी बस्तीमा डोजर चलाइयो,’ उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
थापाले सरकार जनताको वास्तविक समस्याको समाधानमा केन्द्रित हुनुपर्नेमा प्रचारमुखी गतिविधिमा बढी लागेको दाबी गर्दै नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे।