रगत भण्डारणका लागि खरिद गरिएका १७ लाख रुपैयाँबराबरका उपकरण प्रयोगविहीन हुँदा बाजुरामा बिरामीका आफन्त रगतको खोजीमा भौँतारिन बाध्य भएका छन्। एकातिर अस्पतालको कुनामा रक्त चिस्यान उपकरण खिया लाग्ने अवस्थामा पुगेका छन् भने अर्कोतिर आकस्मिक उपचारका लागि आवश्यक रगत नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ।
०७५ मा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालयले १२ लाख रुपैयाँमा खरिद गरेको डिप–फ्रिज र नेपाल रेडक्रस सोसाइटी बाजुराले पाँच लाख रुपैयाँमा खरिद गरेको अर्को फ्रिज हालसम्म प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन्। उपकरण प्रयोगविहीन बन्दा जिल्लामा सुरक्षित रगत भण्डारण तथा वितरणको व्यवस्था अझै कमजोर बनेको छ।
केही दिनअघि त्रिवेणी नगरपालिका– ८ की ३५ वर्षीया देउमा थापा उच्च रक्तस्रावका कारण अस्पताल भर्ना भइन्। चिकित्सकले साढे तीन पिन्ट रगत आवश्यक रहेको बताएपछि उनका श्रीमान् टेकबहादुर थापा मार्तडी बजारभरि रक्तदाता खोज्दै हिँड्नुपरेको थियो। २४ घण्टापछि मात्र एकजना रक्तदाता भेटिएपछि उनको ज्यान जोगिएको परिवारले जनाएको छ।
यस्तै, अछामको मेल्लेख गाउँपालिकाकी ७० वर्षीया नामसरा बुढाले पनि रगत अभावका कारण दुई दिनसम्म अस्पतालमै उपचारको प्रतीक्षा गर्नुपरेको थियो।
अस्पतालमा जटिल प्रसूति तथा शल्यक्रिया सेवा उपलब्ध भए पनि आवश्यक रगतको सुनिश्चितता नभएसम्म अप्रेसन प्रक्रिया अघि बढाउन कठिन हुने गरेको छ। रगत अभावकै कारण धेरै बिरामीलाई धनगढी, नेपालगन्ज वा काठमाडौंका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी नृपराज गिरीका अनुसार जिल्लामा हरेक हप्ता १० देखि १५ जना बिरामीलाई आकस्मिक रूपमा रगत आवश्यक पर्ने गर्छ। तर, रक्तदानसम्बन्धी जनचेतनाको अभाव र नियमित रक्तसञ्चार केन्द्र नहुँदा समस्या झन् गम्भीर बनेको छ।
उनका अनुसार हाल जिल्लामा आवश्यक पर्ने करिब ९० प्रतिशत रगत सेना, प्रहरी, स्वास्थ्यकर्मी तथा समाजसेवीहरूको सहयोगबाट जुटाइँदै आएको छ। स्थानीय तह र सम्बन्धित निकायले रक्तदान अभियान तथा रक्तसञ्चार सेवाको सुदृढीकरणमा प्रभावकारी पहल नगर्दा बिरामी र उनका परिवारले दुःख भोग्नुपरेको गुनासो बढ्दो छ।
स्वास्थ्य सेवा विस्तार भए पनि रक्त व्यवस्थापनको आधारभूत संरचना सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँका उपकरण थन्किएका छन् भने बिरामीको जीवन भने अझै रक्तदाताको खोजीमा निर्भर बनेको छ।