वाल्मीकि विद्यापीठको नाममा तयार गरिएको नक्कली पत्रका आधारमा आठजना विदेशी नागरिकलाई अध्ययन भिसा जारी गरिएको खुलेको छ। अध्यागमन विभागका अनुसार तीमध्ये ६ चिनियाँ, १ कोरियन र १ रुसी नागरिक रहेका छन्।
प्रकरणअनुसार नक्कली भर्नापत्र प्रयोग गरी १० जना विदेशी नागरिकका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा कागजात पेस गरिएको थियो। सोही आधारमा मन्त्रालयले २०८३ जेठ २१ गतेको निर्णयमार्फत अध्यागमन विभागलाई भिसा सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा विभागले आठ जनालाई भिसा जारी गरिसकेको जनाएको छ। तर, थप दुईजनाको भिसा प्रक्रिया क्रममा शंका लागेपछि कागजात परीक्षण गर्दा पत्र नक्कली भएको पुष्टि भएको हो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार ती व्यक्तिहरू यसअघि पर्यटक भिसामा नेपाल आउजाउ गर्ने गरेको अभिलेखमा देखिएको छ। केहीले विगत सात वर्षदेखि नेपाल आवतजावत गर्दै आएकोसमेत पाइएको छ।
नक्कली पत्रमा उनीहरूलाई वाल्मिकी विद्यापीठमा संस्कृत साहित्य विषयको दुईवर्षे आचार्य तहमा भर्ना गरिएको दाबी गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा बिहीबार वीरगन्ज महानगरपालिका–९, पर्साका सुबोध शुक्ल र एक चिनियाँ नागरिक वाङ जिन्काओ पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट नेपाल संस्कृत विश्वविद्यालयको नाममा जारी गरिएको संस्कृत साहित्य प्रशिक्षण शुल्कसम्बन्धी आम्दानी भरपाईसमेत बरामद भएको जनाइएको छ।
अनुसन्धानका क्रममा सुबोध शुक्लले यसअघि पनि विदेशी नागरिकका लागि भिसा सिफारिस गराउँदै आएको स्वीकार गरेको बताइएको छ। ती सिफारिसहरूको वैधताबारे विभागले थप अनुसन्धान गरिरहेको छ।
अध्यागमन विभागले जारी भइसकेका भिसा रद्द गर्ने प्रक्रिया अघि बढाइसकेको छ। साथै, भिसा प्राप्त गरेका अन्य विदेशी नागरिकको खोजी तथा विस्तृत अनुसन्धान पनि जारी रहेको छ।
प्रवक्ता ढकालका अनुसार अनुसन्धानबाट थप कसुर पुष्टि भएमा पक्राउ, जरिवाना, निष्कासन तथा भविष्यमा नेपाल प्रवेशमा रोकसमेत लगाइनेछ। नेपाली नागरिकको हकमा भने सरकारी कागजात किर्तेसम्बन्धी कानुनी कारबाही अघि बढाइनेछ।

