पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन गर्न समिति गठन

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी संयोजकत्वको समितिलाई प्रतिवेदन तयार पार्न १५ दिनको समय

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी संयोजकत्वको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन् ।

२८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । समितिलाई सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

विवादास्पद व्यवसायी दीपक भट्टले सेटिङमा लाइसेन्स लिएको कम्पनीमा गुरुङको संस्थापक सेयर भेटिएपछि गुरुङमाथि प्रश्न उठेको थियो । माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख मूल्यको २५ हजार कित्ता सेयर भेटिएको थियो । भट्टसँग गुरुङको पुरानो साझेदारी देखिएको र उनको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो । सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उनले गत ९ वैशाखमा राजीनामा दिएका थिए ।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्ट र गुरुङको संस्था ‘हामी नेपाली’बिच एक दशकअघिदेखि नै निकटता देखिएको थियो । उनीहरूबिच अपारदर्शी कारोबारसमेत रहेको आरोप लागेपछि विपक्षीले गुरुङमाथि पनि छानबिनको माग गरेका थिए । नैतिकताका आधारमा भन्दै मन्त्री गुरुङले राजीनामा दिएका थिए । राजीनामा दिएको तीन सातापछि छानबिन समिति बनेको हो । गुरुङले पछिल्ला दिनहरूमा नागरिकस्तरबाट आफ्नो सेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएकाले राजीनामा दिएको बताएका थिए ।

जेन–जी आन्दोलनबाट उदाएका गुरुङ गोरखा १ बाट निर्वाचित सांसद हुन् । गृहमन्त्री भएलगत्तै पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायत उच्चपदस्थलाई पक्राउ गर्न उनले सक्रियता देखाएका थिए । मन्त्री भएकै दिनदेखि गुरुङले गौरीबहादुर कार्की जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन थालेका थिए । गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएका छन् । 

सुझावित समाचार