पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गरेको छ।
यस वर्षको मनसुनमा देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुन सक्ने प्रारम्भिक आकलन कार्ययोजनाले गरेको छ।
बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ। यसले विपत् हुनेबित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने गरी कानुनी बाटो खोलेको प्राधिकरणले जनाएको छ।
साथै, विपद्को समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत गरिएको छ।
बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ मा केही संशोधन गरेको छ। यसैगरी, भूकम्पीय पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाइहरूमा २१ जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ।