हुलाकी सडकको कमला नदीको डाइभर्सन बगाउँदा आवतजावत ठप्प

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा आवागमन सहजताका लागि बनाइएको डाइभर्सन सामान्य वर्षाले बगाउँदा आवतजावत ठप्प भएको छ ।

पुलको पुनर्निर्माण नसकुन्जेलका लागि पछिल्लो माघमा करिब एक करोड १४ लाख रुपैयाँ खर्चिएर बनाइएको बालुवाको अस्थायी डाइभर्सन वर्षाले बगाउँदा शनिबार बिहानैदेखि हलुका सवारीसाधन, मोटरसाइकल दिनभर वारि–पारि रोकिन बाध्य भएको स्थानीय बद्री यादवले बताए । पुनर्निर्माण भइरहेको क्षतिग्रस्त पुलको पूर्वी भागबाट बनाइएको डाइभर्सनको धनुषातर्फको तेस्रो पायाँनजिकबाट आएको बाढीले बगाएको उनले बताए । पछिल्लो साता पनि बाढीले बगाएको डाइभर्सन मर्मत गरेर आवागमन नियमित गरिएको थियो ।

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले निरन्तर वर्षा र कमला नदीमा पानीको बहाव बढेकाले अस्थायी संरचना क्षतिग्रस्त हुँदा आवागमन रोकिएको बताए । धनुषातर्फ बाढीको बहाव उच्च रहेकाले पानीको सतह घटेपछि मर्मत गरेर पुनः आवागमन नियमित गरिने उनले बताए । 

कमला पुलको पुनर्निर्माण सम्पन्न नहुँदा धनुषातर्फका जनकनन्दनी गाउँपालिका र कमला नगरपालिकाअन्तर्गत पर्ने सघारा, टडिया, लक्कड, बडेर्वा, लगमा, पतनुका, बनरझुला, फुलबरिया तथा सिराहा नगरपालिकाअन्तर्गत बसबिट्टा, बडेर्वा, मानपुर, खरसलवाका बासिन्दालाई वस्तुभाउ चराउन, घाँसपात गर्न, दैनिक किनमेल, हाटबजार, आर्थिक कारोबारका लागि ठुलो कष्ट भइरहेको स्थानीय गंगाराम साहको गुनासो छ ।  

पछिल्लो ५ मंसिरमा स्थलगत अनुगमनमा आएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कमला पुलको विषयमा गम्भीर रूपले छलफल गरी प्राविधिक, व्यवस्थापकीय र ठेकेदार कसको कारणले समस्या भएको भन्ने खोजी गरिने बताएका थिए । त्यसलगत्तै, हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले पुलको पुनर्निर्माण नहुन्जेल आवागमन सहजताका लागि टेन्डरमार्फत निर्माण गरेको अस्थायी डाइभर्सन पटक–पटक सामान्य वर्षामा समेत बगाउँदा स्थानीयले सास्ती झेल्दै आएका छन् । 

पटक–पटक म्याद थप, सुस्त गतिमा पुनर्निर्माण

तराई–मधेशको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकमा पर्ने कमला पुल निर्माणका लागि ३१ जेठ ०६८ मा पप्पु लुम्बिनी जे.भी.ले भ्याटसहित २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताबमोजिम पुल निर्माण ०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने भए पनि तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि गत असारसम्मका लागि आठौँपठक म्याद थपिएको थियो ।

निर्देशनालयका अनुसार पुल भासिनुअघिसम्म निर्माण व्यवसायीले २० करोड ४३ लाख (भ्याटसहित) भुक्तानी लिइसकेका छन् । कमलामा पुल नहुँदा करिब ३० किलोमिटर दूरीमा रहेको प्रादेशिक राजधानी जनकपुरधाम पुग्न वर्षाको वेला पूर्व–पश्चिम लोकमार्गको ढल्केबर हुँदै करिब ९० किलोमिटर फन्को मार्नुपर्ने बाध्यता छ । 
निर्देशनालयका अनुसार कुल ४६९.२ मिटर लामो पुलको निर्माण व्यवयासीले नै डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो ।

पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र दुई  सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । १७ असार ०७८ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फ दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेपछि क्षति भएकामध्ये दुईवटा हटाइएको छ भने दुईवटा हटाउन बाँकी रहेको निर्माण कम्पनीका साइट इन्जिनियर सूर्यप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार मनसुनी वर्षाअगावै धनुषातर्फ धसेको पायाँ उकास्ने कामसहित बाँकी रहेको तीनवटा फाउन्डेसनको काम सिध्याउने लक्ष्यसहित काम भइरहेको छ ।

सुझावित समाचार