पर्सामा चालू आर्थिक वर्ष ०८२/८३ को चैत महिनामा मात्र घरेलु हिंसासम्बन्धी ६७ वटा उजुरी दर्ता भएका छन्। पर्सा प्रहरीको तथ्यांकअनुसार एक महिनामा दर्ता भएका ६७ उजुरीमध्ये ६४ वटामा मिलापत्र भइसकेको छ।
जिल्लामा घरेलु हिंसासम्बन्धी घटनाको उजुरी दर्ता भएकोमध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा ४६ वटा रहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार महानगरपालिका ठुलो क्षेत्र भएको र ठुलो जनसंख्या रहेकाले यहाँबाट उजुरी दर्ताको संख्या धेरै भएको हो। महानगरभित्रबाट आएका ४३ वटा उजुरीहरू मिलापत्र गराएर छिनोफानो गरिएको छ।
यसैगरी, बहुदरमाई नगरपालिकामा ६, पोखरीया नगरपालिकामा दुई र पर्सागढी नगरपालिकामा एउटा उजुरी दर्ता भएर मिलापत्र भएका छन्। सखुवा प्रसौनी गाउँपालिकाका पाँच, विन्दबासिनी गाउँपालिकाका दुई र जगरनाथपुर गाउँपालिकाका एउटा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएका छन्।
कालिकामाई गाउँपालिकाबाट दुई तथा जिराभवानी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाबाट एक–एक उजुरी दर्ता हुँदा पकाहामैनपुर गाउँपालिका, ठोरी गाउँपालिका र छिपहरमाई गाउँपालिकाबाट घरेलु हिंसाका कुनै उजुरी नपरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।