नेपाल आयल निगम व्यवस्थापन र पम्प सञ्चालकहरूले २ वैशाख (१५ अप्रिल)मा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची आउनेबित्तिकै मूल्यवृद्धि हुने अनुमान गर्दै त्यसबाट लाभ लिन अघिल्लो दिनदेखि नै ठुलो परिमाणमा इन्धन बिक्री गरेको देखिएको छ ।
तथ्यांकअनुसार निगमले ३० चैत (सोमबार) ४३ लाख ७२ हजार लिटर पेट्रोल बिक्री गरेको थियो, जुन सामान्य खपतको तुलनामा करिब दोब्बर हो । सोही दिन ७६ लाख ७४ हजार लिटर डिजेल बिक्री भएको थियो । यति ठुलो परिमाणको बिक्री हुनुमा अघिल्लो शनिबार र आइतबार परेको सार्वजनिक बिदा मुख्य कारण भएको निगमका प्रवक्ता ठाकुरले दाबी गरेका छन् । ‘३० चैतअघि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले इन्धन बिक्री हुन सकेन,’ उनले भने, ‘दुई दिनपछि कार्यालय खुल्दा बिक्री बढ्नु स्वाभाविक हो ।’
निगमका अनुसार लगत्तै १ वैशाखमा पनि सार्वजनिक बिदा परेकाले त्यसको प्रभाव २ वैशाखको बिक्रीमा समेत देखिएको हो । २ वैशाखमा ३४ लाख ६ हजार लिटर पेट्रोल र ६२ लाख ६८ हजार लिटर डिजेल बिक्री भएको थियो । अघिल्लो दिन बिदा परेकाले सो दिन पनि बिक्री उच्च भएको प्रवक्ता ठाकुरको भनाइ छ । सोही दिन रातिदेखि लागू हुने गरी डिजेलको मूल्य ३० रुपैयाँ बढाइएको थियो भने पेट्रोलको मूल्य यथावत् राखिएको थियो ।
यद्यपि, ३० चैतको उच्च बिक्रीलाई बिदासँग जोडिए पनि त्यसपछिको तथ्यांकले फरक चित्र देखाउँछ । ७ वैशाख (सोमबार) जुन दिन पनि अघिल्लो दुई दिन सार्वजनिक बिदापछि कार्यालय खुलेको भए पनि पेट्रोल ३७ लाख २३ हजार लिटर र डिजेल ५३ लाख २० हजार लिटर मात्र बिक्री भएको छ । यसरी तुलना गर्दा २ वैशाखको बिक्री ७ वैशाखको तुलनामा पेट्रोलतर्फ ६ लाख ४९ हजार लिटर र डिजेलतर्फ २३ लाख चार हजार लिटर बढी देखिन्छ । यसले बिदा मात्र नभई मूल्यवृद्धिको पूर्वसूचनाका आधारमा अस्वाभाविक रूपमा इन्धन खपत र वितरण बढाइएको आशंका छ ।