कास्की प्रहरीको १० घण्टे स्विप अपरेसनमा १२२ जना पक्राउ

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

कास्की प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको १० घण्टा लामो स्विप अपरेसनमा १२२ जनालाई पक्राउ गरेको छ। जिल्लामा विभिन्न क्षेत्रमा लागुऔषध बिक्री-वितरण र सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुन्डाको रूपमा धम्की दिने, गुन्डागर्दी गर्ने व्यक्तिहरूलाई नियन्त्रण गर्ने उद्देश्यले स्विप अपरेसन सञ्चालन गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म सञ्चालन गरिएको अपरेसनका क्रममा लागुऔषध बिक्री-वितरण गर्ने, सेवन गर्ने, टोले गुन्डा, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्ने, रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्ने उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको पाण्डेले जानकारी दिए। अपरेसनका क्रममा सयजना प्रहरी परिचालन गरिएको थियो।

पाण्डेका अनुसार पोखरा १, २, ३, ४ र ५ स्थित कसेरी, बाग्लुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा र प्रस्याङबाट नौजना, पोखरा ६ लेकसाइड, ड्यामसाइड, गैराको चौताराबाट ३५ जना, पोखरा ८ बगाले टोल, सभागृह चोक, शिवालय चोकबाट ६ जना तथा पोखरा ९ र १० पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पताल चोक क्षेत्रबाट २० जनालाई पक्राउ गरिएको हो। 

यसैगरी, पोखरा ११, १२, १३ स्थित तुल्सीघाट, शीतलादेवी, काँहुडाँडा, काँहुखोला क्षेत्रबाट आठ, पोखरा १४, १५ स्थित एयरपोर्ट, फूलबारी, खसीबजार रामबजार क्षेत्रबाट १५ जना, पोखरा १६ बाटुलेचैर, लामाचौरबाट दुईजना, पोखरा १८ चिसापानी, मेथलाङबाट दुईजना, पोखरा २७ र २८ स्थित दिपाङताल, रिठेपानी क्षेत्रबाट ६ जना, पोखरा २९ र ३० स्थित भण्डारढिक, सैनिक बस्ती, पटनेरी, तावामुख क्षेत्रबाट १२ जना, पोखरा– ३२ राजाचौतारा, लामेआहाल डम्पिङ साइडबाट तीनजना, माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट तीनजना, अन्नपूर्ण गाउँपालिका १ नौडाँडाबाट एकजनालाई नियन्त्रणमा लिएको छ।

स्विप अपरेसन निरन्तर चलिरहने तथा टोले गुन्डा, लागुऔषध सेवनकर्ता, मापसे गरी होहल्ला गर्ने, समाजमा अशान्ति फैलाउने, सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्नेजस्ता उच्छृंखल गतिविधि गर्ने व्यक्तिहरूलाई निरन्तर पक्राउ गरी कारबाही गरिने पाण्डेले बताए।

सुझावित समाचार