मकवानपुर खण्डमा लामो समयदेखि अवरुद्ध रहेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइनको निर्माण कार्य पुनः सुरु गरिएको छ । स्थानीयको अवरोधका कारण रोकिएको काम मंगलबारदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा पुनः अघि बढाइएको हो ।
हेटौँडा उपमहानगरपालिका वडानम्बर १५, १६ र १७ मा स्थानीयवासीको विरोधका कारण प्रसारणलाइन विस्तारको काम रोकिएको थियो। निर्माण कार्य अघि बढाउन खोज्दा स्थानीयले पुनः अवरोध गर्ने प्रयास गरेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । सो क्रममा प्रहरीले तीन महिलासहित चारजनालाई नियन्त्रणमा लिएर छाडेको थियो ।
स्थानीय बासिन्दाले विनामुआब्जा निजी तथा नम्बरी जग्गामाथि प्रसारणलाइन विस्तार गर्न नदिने अडान लिँदै आएका थिए। उनीहरूले बस्तीबिचबाट लाइन लैजान नहुने, यदि लैजानै परे पनि उचित मुआब्जा सुनिश्चित गर्नुपर्ने तथा स्वास्थ्यमा पर्ने दीर्घकालीन असरबारे स्पष्ट जानकारी दिनुपर्ने माग राख्दै आएका छन्।
यो प्रसारणलाइन हेटौँडास्थित थानाभर्याङ सबस्टेसनदेखि इनरुवासम्म २८८ किलोमिटर लामो रहेको छ । जसलाई हेटौँडा–ढल्केबर ९१३४ किलाेमिटर र ढल्केबर–इनरुवा ९१५४ किलाेमिटर गरी दुई खण्डमा विभाजन गरिएको छ । ढल्केबर–इनरुवा खण्ड भने सम्पन्न भई सञ्चालनमा आइसकेको छ । तर, हेटौँडा–ढल्केबर खण्ड विभिन्न अवरोधका कारण समयमै सम्पन्न हुन सकेको छैन ।
आयोजनाअन्तर्गत कुल ७९५ टावरमध्ये ९८ वटा टावर मकवानपुरमा पर्छन् । हालसम्म अधिकांश टावर निर्माण सम्पन्न भइसकेका छन् भने अब १४ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । तीमध्ये वडा नम्बर १५ मा दुईवटा, वडा नम्बर १६ मा १० वटा र वडा नम्बर १७ मा दुईवटा टावर निर्माण हुन बाँकी छन् । ढल्केबरदेखि हेटौँडा–१७ सम्म तार तान्ने काम भने सम्पन्न भइसकेको छ।
आयोजना निर्देशक श्यामकुमार यादवका अनुसार ०७५ सालमै टावर रहने जग्गा अधिग्रहण गरी मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको थियो । तारमुनि पर्ने जग्गाको हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षतिपूर्ति मूल्यांकन समिति गठन गरेर प्रक्रिया अघि बढाइएको उनले बताए ।
यादवका अनुसार समयमै आयोजना सम्पन्न नहुँदा राज्यले वार्षिक पाँचदेखि ६ अर्ब रुपैयाँसम्मको आर्थिक क्षति व्यहोर्नुपरेको छ । सन् २०१३ देखि सुरु गरिएको आयोजना साढे दुई वर्षमै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधका कारण अझै पूर्णता पाउन सकेको छैन ।
हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारणलाइनको क्षमता करिब २०० मेगावाट मात्र भएकाले विशेषगरी हिउँदयाममा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । नयाँ ४०० केभी प्रसारणलाइन सम्पन्न भएपछि विद्युत् प्रसारण क्षमता वृद्धि भई ऊर्जा आपूर्तिमा सुधार आउने अपेक्षा गरिएको छ ।