महोत्तरीको जलेश्वरमा आएको हावाहुरीका कारण रुख टेम्पुमाथि ढल्दा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
शनिबार साँझ जलेश्वर नगरपालिका–९, प्रकौलीस्थित जलेश्वर–जनकपुर सडकखण्डमा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज१घ ४८५० नम्बरको टेम्पुमाथि मसला (मसालाको) रुख ढल्दा दुर्घटना भएको हो। रुखले किचिँदा टेम्पुमा सवार दुई यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका–२०, देवडा रुपैठानिवासी अन्दाजी ४१ वर्षीया शकुन्तला पण्डित र महोत्तरीको एकडारा गाउँपालिका–३ निवासी अन्दाजी २३ वर्षीय राहुल मल्ली रहेका छन्।
दुर्घटनामा चारजना घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते जलेश्वर नगरपालिका–११ का ५२ वर्षीय टेम्पुचालक हरेन्द्र ठाकुरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। यसैगरी, मृतक राहुल मल्लीकी ४३ वर्षीया आमा फेकनी देवी पनि गम्भीर घाइते भएकी छिन् उनलाई प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको प्रहरीले जनाएको छ।
टेम्पुमै सवार मृतक शकुन्तला पण्डितकी १४ वर्षीया छोरी रिया पण्डित सामान्य घाइते भएकी छन् भने जनकपुर उपमहानगरपालिका–१२, निवासी रामबाबु मल्लीका १७ वर्षीय छोरा धीरज मल्लीको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।
विद्युत् सेवा अवरुद्ध
शनिबार साँझ महोत्तरीका केही स्थानमा सामान्य हावाहुरीसँगै वर्षा भए पनि जलेश्वर नगरपालिका–९ र ११ क्षेत्रमा भने तीव्र हावाहुरी चलेको स्थानीयले बताएका छन्।
सोही क्रममा जलेश्वर–९, प्रकौली र जलेश्वर–११ लोचना क्षेत्रमा ३३ केभी र ११ केभीका दर्जनौँ विद्युत् पोलमा रुख ढल्दा क्षति पुगेको छ। यसका कारण सदरमुकाम जलेश्वरसहित पिपरा, एकडारा, चकवा, मटिहानी, रिंग, सिटी र कट्टी फिडरअन्तर्गतका सबै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन सिंहका अनुसार ठुलो क्षति भएकाले तत्काल विद्युत् सेवा सुचारु हुने अवस्था छैन। उनका अनुसार विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न कम्तीमा एकदेखि दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ।