पाथीभरामा एकै दिन ७ हजार २२ भक्तजनले गरे दर्शन

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

पूर्वको ताप्लेजुङमा अवस्थीत प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन ७ हजार २२ जना भक्तजनले दर्शन गरेका छन् ।  पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाम्बाङले शनिबार बिहानदेखि बेलुकासम्म मन्दिर क्षेत्रमा भक्तजनको भिड लागेको बताए ।

शनिबारको बिदा, अनुकूल मौसम र धार्मिक आस्थाका कारण दर्शनार्थीको संख्या बढेको हो। नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत तीर्थयात्री उल्लेख्य मात्रामा आएको पाथीभराका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । 

पाथीभरा मन्दिर हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण शक्तिपीठका रूपमा परिचित छ । देवी दुर्गाको शक्ति रूपको पूजा गरिँदै आएको पाथीभराका पुजारी टिकाराम पौडेलले जानकारीदिए । यहाँ साँचो र चोखोमनले मनले पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। किम्बदन्तीअनुसार प्राचीन समयमा गोठालाहरूले हराएका गाई–बस्तु यही स्थानमा पूजा गरेपछि फेला पारेका र यहाँ पूजा आराधना गर्न थालिएको भन्ने किंबदन्ती रहेको छ । 

एकै दिन ठुलो संख्यामा भक्तजन पुग्दा व्यवस्थापनमा हम्बेहम्बे परेको कर्मचारी महतले बताए । बिहान ४ बजेदेखि नै भक्तजनहरू आए । उनीहरूलाई लाईनमा राखेर पालैपालो दर्शन गर्न मिलाईएको थियो । दिउसो २ बजेसम्म पनि भक्तजनहरू दर्शन गर्न आएको उनले पाथीभरा मन्दिरबाट जानकारी दिए ।  

उकालो पदमार्ग, सीमित पूर्वाधार र बदलिँदो मौसमका कारण यात्रुहरूले केही सास्ती खेप्नुपरेको थियो। काफ्ले पार्टीसम्मको बाटो धेरै अप्ठ्यारो र चिप्लो भएका कारण धेरै समस्या भएको मोरङ जिल्लाबाट आएका तीर्थयात्री गोमा बरालले बताईन् । शुक्रबार ३ बजेतिर ताप्लेजुङ बाजारमा आइपुगे पनि माथि जाने बलेरो गाडी नपाएर त्यही बसेको उनले जानकारी दिईन् ।

 पछिल्लो समय पदमार्ग सुधार, खानेपानी र आवास व्यवस्थामा क्रमिक सुधार हुँदै आएको क्षेत्र विकास समितिले समितिले जनाएको छ।तीर्थयात्रीको बढ्दो आगमनले स्थानीय होटेल, यातायात र साना व्यवसायीहरू उत्साहित भएको बताउँछन् ।  शनिबारको भिडले पाथीभरा मन्दिरप्रतिको आस्था अझै बलियो रहेको देखाएको छ।
 

सुझावित समाचार