अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एकैदिन दुई इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा र नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) घुससहित पक्राउ परेका हुन्।
भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर ३१ वर्षीय सुमन राई सेवाग्राहीसँग ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई भुक्तानीसम्बन्धी सहजीकरण गरिदिने नाममा घुस लिएपछि ललितपुर महानगरपालिका ३ बाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।
यसैगरी, प्राधिकरणको कञ्चनपुर वितरण केन्द्रका प्रमुख ३५ वर्षीय महेन्द्रकुमार दास एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्।