बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न स्थानमा संयुक्त राष्ट्रसंघको सहयोगमा पर्यटक सूचना बोर्ड राखिएको छ। सूचना बोर्डको मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रूपमा उद्घाटन गरे।
लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरूलाई लुम्बिनीको इतिहास र महत्त्वबारे जानकारी दिने उद्देश्यले सूचना बोर्ड राखिएको विकास कोषले जनाएको छ।
सूचना बोर्ड उद्घाटनअघि नेपाल पर्यटन बोर्डमार्फत कार्यान्वयन तथा अनुगमन हुने युएनडिपीको दिगो विकास परियोजनाका कार्यक्रमहरूबारे छलफल भएको थियो। छलफलमा कोषका उपाध्यक्ष डा. लामा, सदस्यसचिव दीपक श्रेष्ठ, कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बे, युएनडिपी नेपालका उपआवासीय प्रतिनिधि जुलियन सेभिया, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी, कोकाकोला कम्पनी भारतका निर्देशक आदित्य पान्डा र लुम्बिनी विकास कोषका अधिकारीहरूको सहभागिता थियो।
कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी गुरुयोजनाभित्र गर्न सकिने सम्भावित विकास परियोजनाहरूबारे जानकारी गराए। सो अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हल परिसरमा वृक्षरोपणसमेत गरिएको थियो।