धादिङको नीलकण्ठ नगरपालिकाको पहरेभिर कोत्रेस्थित थोपल खोलामा स्थानीयवासीको पहलमा पुल निर्माण सुरु गरिएको छ। लामो समयदेखि पुल निर्माणको माग गरिए पनि सम्बन्धित निकायले नगरेपछि स्थानीयले आफैँ रकम संकलन गरी वडा नम्बर ३ र १२ जोड्ने पुल निर्माण थालेका हुन्।
नगरपालिकासहित अन्य सरोकारवाला निकायसँग पुल निर्माण गर्न पटक–पटक माग गरिए पनि अहिलेसम्म कुनै योजना परेको छैन। तर, आवतजावतमा अति नै समस्या भएपछि सहयोग जुटाएर पुल बनाउन थालेको स्थानीय विष्णु श्रेष्ठले बताए। ‘निर्माण भइरहेको पुलका लागि हाल जग तथा मेसिनरी पर्खाल लगाउने काम भइरहेको छ। दुवैतर्फ जग बसाल्ने, खोलाको बिच भागमा पिल्लर राख्ने र माथि फलामको पाता राख्ने तयारी गरिएको छ,’ उनले भने।
‘पञ्चायतकालदेखि झोलुंगे पुल बनाउन सर्भे गरिए पनि अहिलेसम्म पुल बनेन। कतैबाट योजना नपरेपछि हामी आफैँले रकम जुटाएर काम सुरु गरेका हौँ। प्राविधिक मूल्यांकनअनुसार पुल निर्माणका लागि करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान छ,’ उनले भने, ‘मैले पनि प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन प्रहरीको रूपमा काम गर्दा पाएको तलब ४८ हजारमा २२ हजार थपेर ७० हजार रुपैयाँ सहयोग गरेको छु। अन्य स्थानीयले पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहनुभएको छ।’
पुल निर्माणमा स्थानीयको सक्रियता बढेपछि सहयोगी हातहरू पनि बढेको स्थानीय होमनारायण श्रेष्ठ बताउँछन्। ‘सबैले सहयोग गर्छाैँ भनिरहेका छन्। रसिद छाप्न दिएका छौँ, केही दिनबाट रकम संकलन द्रुत रूपमा अघि बढ्छ। विकास निर्माणको काम हो। पुल बने हामी स्थानीयहरूलाई नै सहयोग पुग्ने हो। सबैले सकेको सहयोग गरे चाँडै नै यो पुल बन्छ,’ उनले भने।
स्थानीय सरकारबाट पनि आर्थिक सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै उनले थपे, ‘जनप्रतिनिधिहरूसँग कुराकानी भइरहेको छ। हाम्रै सेवामा रहेका उनीहरूले पनि थोरै सहयोग त कसो नगर्नुहोला र ?’
थोपल खोलामा पुल बन्ने भएपछि बुद्धसिंह तामाङले पनि पाँच हजार सहयोग गरेका छन्। ०७२ सालको गोर्खा भूकम्पले आफ्नो थातथलो छाडेर विस्थापित भई सालबोटेमा बस्दै आएका छन्। छरछिमेकी सबै मिलेर थालेको पुण्यको काममा हातेमालो गर्न सहयोग गरेको उनले बताए। ‘अहिले सामान किन्न आवश्यक परेर त्यति रकम सहयोग गरेँ। छरछिमेकमा अरूसँग पनि कुरा गर्दै छौँ। सबैले मिलेर यो पुल बनाउने अभियानमा छौँ। अझै थप सहयोग गर्ने र गराउने काममा छौँ,’ उनले भने।
यो पुल बनेपछि नीलकण्ठ नगरपालिका– १२ का नानीझार, धन्सारपाखा, सालबोटे, दामगाडे र नीलकण्ठ नगरपालिका– ३ का पहरे चौतारा, मालेबगर क्षेत्रका करिब पाँच सयभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।